तेह्रथुम । आठराई गाउँपालिकाको केन्द्र संक्रान्ती बजारमा हिजो बजार अनुगमन गरिएको छ। ईलाका प्रशासन कार्यालय आठराईको नेतृत्वमा आठराई गाउँपालिका, स्वास्थ्य कार्यालय, ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा उद्योग वाणिज्य संघ आठराईको संयुक्त सहभागितामा बजार अनुगमन गरिएको हो। अनुगमनका क्रममा विभिन्न पसलबाट म्याद गुज्रिएका करिब ९ सय रुपैयाँ बराबरका सामग्री बरामद गरी नष्ट गरिएको छ।
ईलाका प्रशासन कार्यालय आठराईका प्रमुख रामप्रसाद सुवेदीका अनुसार अनुगमनका क्रममा विभिन्न प्रकृतिका २५ वटा पसलको निरीक्षण गरिएको थियो। किराना पसल, कस्मेटिक पसल, होटल, फार्मेसी तथा एग्रोभेटलगायतका व्यवसायमा अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो। बजारमा बिक्री भइरहेका वस्तुको गुणस्तर, म्याद तथा उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर अनुगमन गरिएको जनाइएको छ। बजार अनुगमनले उपभोक्ताको हित संरक्षण गर्नुका साथै व्यवसायीहरूलाई समेत जिम्मेवार र सचेत बनाउन सहयोग पुग्ने स्थानीय व्यापारीहरूको भनाइ छ।





