काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच असमझदारी सतहमा आएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई चिन्तित देखिएका छन् ।
सरकारको कार्यशैलीप्रति रविले सार्वजनिक असन्तुष्टि गर्नु र प्रधानमन्त्री बालेन्द्रले सामाजिक सञ्जालमार्फत आफूहरूबीच विवाद रहेको संकेत गरेपछि बाबुराम चिन्तित देखिएका हुन् । उनले सत्ताधारी दलमा देखिएको यस्तो विवाद किचलो देश र लोकतन्त्रको निम्ति शुभसंकेत नभएको पनि बताएका छन् ।
‘नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीवीचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभसंकेत होइन,’ उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।
बाबुरामले २००७ सालपछि कांग्रेसमा बिपी र मातृका समूह, पुन: कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरीजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धि पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूहबीचको अन्तर्संघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई नोक्सान भएको पनि उल्लेख गरेका छन् ।
‘जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहोर्याओस्। बरू इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस्,’ उनले भनेका छन् ।





