विराटनगर/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यस व्यवस्थाबाट अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्। यसले यात्रुलाई सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न लाग्ने समयबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन। सामान आउने प्रतीक्षामा यात्रुहरू अन्योलमा पर्ने तथा ब्यागेज व्यवस्थापन प्रक्रियाबारे पर्याप्त सूचना नहुँदा असहजता सिर्जना हुने गरेको थियो। नयाँ व्यवस्थाले ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षमै देख्न सकिने भएपछि यात्रुको प्रतीक्षा समयलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ।
पछिल्लो समय मन्त्री पौडेलले विमानस्थलको सेवा सुधार, प्रविधिको उपयोग र यात्रुको सुविधालाई प्राथमिकतामा दिने कुरामा गम्भीर रुपमा पहल गरेका छन्। यस पहलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अनुभवलाई थप प्रभावकारी र यात्रुमैत्री बनाउने अपेक्षा गरिएको छ। यात्रु सेवाको गुणस्तर अभिवृद्धि, सेवा प्रवाहमा पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगमार्फत विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने प्रयासको रूपमा हेरिएको छ।





