नेपाल आयल निगमले नयाँ कर्पोरेट भवन बबरमहलमा स्थानान्तरण गरेको छ । इन्धनको सहज आपूर्तिलाई ध्यानमा राख्दै विभिन्न ठाउँमा भण्डारण गृह बनाएर पेट्रोलियम पदार्थ आपूर्तिलाई सहज बनाएको बताइन्छ । अब हवाई इन्धन पनि भण्डारण गरिने जानकारी दिइएको छ ।
निगमका प्रबन्ध निर्देशक डा.चण्डिका भट्टका अनुसार चितवनमा हवाई इन्धन भण्डारणको तयारी गरिएको छ । त्यसपछि भारतबाट ट्यांकरमा हवाई इन्धन आयात गर्नुपर्ने झण्झट हट्ने उनको भनाइ छ ।
जनआस्थासँगको कुराकानीमा उनले भने,‘चितवनको पाइपलाइपमा डाइरेक्ट हवाई इन्धन आउने भएपछि निकै सहज हुन्छ । पश्चिम नेपालको हकमा भने पाइपलाइप नबनेकाले केही परिमाणमा आयात गर्नुपर्ला ।’
हाल निगम सिलगढी–झापा पेट्रोलियम पाइपलाइनका साथै झापामा इन्धन भण्डारण गृहको काममा व्यस्त छ । यी दुवै पाइपलाइन भारतीय सरकारको पूर्ण अनुदानमा बनेको हो । पाइपलाइन भारतीय अनुदानमा सम्पन्न भएको हो ।
अमलेखगञ्जमा एक करोड लिटर इन्धन अटाउने क्षमताको भण्डारण गृह छ । त्यस्तै, पोखरामा पनि एक करोड लिटर कै इन्धन अट्ने भण्डारण गृह बनाइएको छ । पश्चिम नेपालको हकमा नेपालगञ्जमा ५० लाख लिटरको त्यस्तो गृह निर्माण गरिएको छ । पूर्वी नेपालको विराटनगरमा पनि ५० लाख लिटर नै पेट्रोलियम पदार्थ अटाउने भण्डारण गृहको निर्माण भइसकेको छ ।
विगतमा पाँच दिन धान्ने इन्धन मात्र भण्डारण हुने गरेकोमा क्षमता अभिवृद्धिसँगै ११ दिन पुग्नेगरी इन्धन भण्डारण हुन थालेको छ । यसैगरी, डिजेल आठ दिनलाई पुग्थ्यो भने अहिले १२ देखि १३ दिन धान्छ । प्राकृतिक इन्धन उत्पादनमा पनि निगमले सक्रियता देखाएको छ । हाइड्रोजन (इथानोल) उत्पादनको तयारी भएको छ । यसबाट इन्धनको आयात प्रतिस्थापन हुने जानकारी दिइएको छ ।
यसबाट विदेशी मुद्राको बचत हुने उल्लेख गर्दै एमडी भट्टका अनुसार काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा हाइड्रोजनको परीक्षण सम्पन्न भइसकेको छ । अबको केही समयपछि त्यसको उत्पादनसँगै बजारीकरण शुरु हुनेछ । जसले मुलुकमा रोजगारी सिर्जना र अर्थतन्त्रमा टेवा पुर्याउने निगमको दाबी छ ।
साभार :राजकुमार राय जनआस्था