जनार्जन खत्री
सर्लाही, कात्तिक १६ गते । यातायात व्यवस्था कार्यालय बर्दिवासले मधेश प्रदेशका सर्लाही, महोत्तरी, धनुषालगायत जिल्लाका सेवाग्राहीको सवारी चालक अनुमति पत्र (लाइसेन्स) पालिकाको कार्यालयमा पु¥याइरहेको छ ।
छपाइ भएर आएका लाइसेन्स लिन सेवाग्राही कार्यालयसम्म धाउनु नपरोस् भन्ने उद्देश्यले सरकारको नीति अनुरूप यातायात व्यवस्था कार्यालयले पालिकाको कार्यालयमा पुगेर लाइसेन्स हस्तान्तरण गरिरहेको हो । सेवाग्राहीले आफ्नै पालिकाबाट लाइसेन्स प्राप्त गर्न थालिसकेका छन् ।
पालिकाको कार्यालयमा लाइसेन्स पुगेकोबारे यातायात व्यवस्था कार्यालय र पालिकाको कार्यालयहरूले सेवाग्राहीको नामावलीसहित सामाजिक सञ्जालमार्फत जानकारी प्रदान गर्दै आएको जनाइएको छ ।
कार्यालयका प्रमुख राकेश यादवका अनुसार सर्लाही, महोत्तरी र धनुषा जिल्लाका पालिकाहरूमा लाइसेन्स पुग्न थालिसकेको छ । कार्यालयको काम प्रभावित नहुने गरी बिदाको दिन शनिबार र आइतबार पारेर पालिकाहरूमा आफैँ पुगी पालिकाका प्रमुख तथा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायतलाई हस्तान्तरण गर्ने गरिएको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।
मधेश प्रदेशका तीन जिल्लामा मात्र नभइ आगामी दिनमा छिमेकी सिन्धुलीसहितका जिल्लाहरूमा समेत पालिकामै पुगेर लाइसेन्स हस्तान्तरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लाइसेन्स नवीकरण नै अनलाइनबाट गर्न मिल्ने भएपछि सेवाग्राहीलाई थप सहजता होस् भनेर प्रिन्ट भएर आएका लाइसेन्ससमेत पालिकामै पु¥याउन थालेका छौँ ।”
लालबन्दी नगरपालिका–७, डुमडुमेका भीमप्रसाद काफ्लेले पालिकामै लाइसेन्स पठाइदिने सरकारको नीति राम्रो लागेको बताउनुभएको छ । अनलाइनबाटै लाइसेन्स र ब्लूबुक नवीकरण गर्न पाउँदा सहज र छरितो महसुस भइरहेको काफ्लेको भनाइ छ ।
चालू आर्थिक वर्षको साउनभन्दा अघिका लाइसेन्स छापिएर आएका छन् । ती लाइसेन्स पालिकाकै कार्यालयमा लगेर हस्तान्तरण गर्ने गरिएको छ ।
यातायात व्यवस्था कार्यालयले पालिकामा ल्याएर हस्तान्तरण गर्ने लाइन्सेस सर्वसाधारणलाई वितरणका लागि सहजीकरण गर्न पालिकाहरूले आफ्ना कुनै एक कर्मचारीलाई जिम्मेवारी दिएका छन् । लालबन्दी नगरपालिकामा कार्यरत श्याम लामाले पालिकाले जिम्मेवारी दिए अनुसार आफूले अहिले कार्यालयमा लाइसेन्स लिन आउने सेवाग्राहीलाई सहजीकरण गरिरहेको बताउनुभयो ।
चालु आर्थिक वर्ष २०८३/८४ भन्दाअघि अर्थात् असारसम्म नवीकरण गरिएका लाइसेन्स छपाई भएर आएको र कार्यालयमा आएको केही दिनमै पालिकाहरूमा पठाउने काम भइरहेको यातायात व्यवस्था कार्यालय बर्दीवासले जनाएको छ ।
-गोरखापत्र अनलाइनको सहयोगमा





