काठमाडौँ, कात्तिक १६ गते । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले सवारी आवागमन व्यवस्थापन र यात्रुको सुरक्षाका लागि विशेष योजना बनाएको छ ।

चाडपर्वका समयमा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने, लामो दूरीका सवारीसाधनको आवागमन बाक्लिने तथा धार्मिकस्थल र पूजास्थलमा मानिसको भिड बढ्ने भएकाले ट्राफिक प्रहरीले निगरानी र चेकजाँचलाई तीव्रता दिएको हो ।

चाडपर्वका समयमा यात्रुले भोग्नुपर्ने समस्या सम्बोधन गर्न उपत्यकाका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दसैंतिहारलाई लक्षित गरी सञ्चालनमा ल्याइएका ती सहायता कक्ष छठ पर्वसम्म निरन्तर सञ्चालनमा रहने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सहयोग उपलब्ध गराउनुका साथै यात्रा क्रममा देखिने समस्या समाधानमा सहजीकरण गरिने उहाँको भनाइ छ ।

ट्राफिक प्रहरीले विशेषगरी लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्थालाई प्राथमिकतामा राखेको छ । उहाँका अनुसार काठमाडौँका बसपार्क, जगाती र नागढुंगामा सवारीसाधनको यान्त्रिक परीक्षण गर्ने व्यवस्था समेत मिलाइएको छ । लामो तथा मध्यम दूरीका सवारीसाधनलाई प्रस्थान बिन्दुबाट गन्तव्यतर्फ पठाउनुअघि अनिवार्य रूपमा प्राविधिक परीक्षण गरिने सुवेदीले बताउनुभयो ।

सवारीसाधनको परीक्षणका लागि प्रहरी प्रधान कार्यालयबाट खटिएको प्राविधिक टोली र ट्राफिक प्रहरी संयुक्त रूपमा परिचालन भएका छन् ।

परीक्षणका क्रममा सवारीसाधनको यान्त्रिक अवस्था, आवश्यक मर्मतसम्भार भए–नभएको लगायतका विषयमा जाँच गरिने छ । सवारीसाधनको अवस्था यात्राका लागि उपयुक्त छ वा छैन भन्ने सुनिश्चित गरेपछि मात्रै गन्तव्यतर्फ जान अनुमति दिने गरिएको छ । यसका अतिरिक्त सवारीसाधनबाट हुने वायु प्रदूषण नियन्त्रणलाई पनि परीक्षणको दायरामा राखिएको छ ।

वातावरण विभागबाट खटिएका प्राविधिक र ट्राफिक प्रहरीको संयुक्त टोलीले सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गर्ने समेत काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुवेदीको भनाइ छ ।

सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न चालक तथा सवारीसाधनको अवस्थामाथि पनि निगरानी बढाइएको छ । क्षमताभन्दा बढी यात्रु वा सामान बोकेर सञ्चालन हुने सवारीसाधन नियन्त्रण गर्न विभिन्न स्थानमा चेकजाँचका लागि ट्राफिक प्रहरी खटाउने कार्यालयले बताएको छ । लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक हुनुपर्ने कानुनी व्यवस्थाको पालना भए–नभएको पनि प्रहरीले निगरानी गरिरहेको छ ।

त्यस्तै, चालकले मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी चलाए–नचलाएको विषयमा नियमित परीक्षण भइरहेको छ । तीव्र गतिमा सवारी चलाउने तथा अत्यधिक भार बोकेर सञ्चालन गर्ने सवारीसाधन नियन्त्रण गर्न बाटोका विभिन्न स्थानमा चेकजाँच र निगरानीको व्यवस्था मिलाइएको छ । यसका लागि उपलब्ध प्रविधिको अधिकतम प्रयोग गरी सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार चाडपर्वका समयमा यात्रुको आवागमन सहज बनाउनु मात्रै ट्राफिक प्रहरीको उद्देश्य नभई समग्र यातायात प्रणालीलाई व्यवस्थित, मर्यादित, सुरक्षित र नागरिकमैत्री बनाउनु पनि हो । त्यसैले सवारीसाधनको प्राविधिक अवस्थादेखि चालकको व्यवहार र सडकमा हुने गतिविधिसम्म निगरानी गर्ने गरी काम भइरहेको छ ।

यसपटकको ट्राफिक व्यवस्थापनमा मौसमको अवस्थालाई समेत ध्यान दिइएको छ । यात्राका क्रममा सवारीसाधन बिग्रिएमा तत्काल मर्मतसम्भार गर्न तथा सडकमा कुनै कारणले अवरोध सिर्जना भएमा शीघ्र हटाएर आवागमन सुचारु गराउन प्राविधिक टोली र आवश्यक यान्त्रिक उपकरण तयारी अवस्थामा राखिएको सुवेदीले जानकारी दिनुभयो ।

यसबाट बिच बाटोमा सवारी बिग्रिँदा वा सडक अवरुद्ध हुँदा यात्रुले लामो समयसम्म सास्ती भोग्नुपर्ने अवस्था कम गर्ने ट्राफिक प्रहरीको योजना छ ।

तिहारलगत्तै मनाइने छठ पर्वका लागि पनि ट्राफिक प्रहरीले छुट्टै व्यवस्थापन तथा सुरक्षा योजना तयार पारेको छ । छठ पूजा आयोजना हुने स्थानहरूको पहिचान गरिसकिएको र ती क्षेत्रमा ट्राफिक प्रहरीसँगै सिभिल प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।

छठका अवसरमा नदी, पोखरी तथा अन्य जलाशय आसपास श्रद्धालुको भिड बढ्ने भएकाले त्यस्ता स्थानमा सवारी आवागमन र पार्किङ व्यवस्थापनलाई विशेष प्राथमिकता दिइनेछ ।

पूजास्थल आसपास सवारी पार्किङमा समस्या नहोस्, सडकमा अनावश्यक भिड नबढोस् र आवागमन अवरुद्ध नहोस् भन्ने उद्देश्यले आवश्यक जनशक्ति परिचालन गरिने सुवेदीले बताउनुभयो । सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउन बडी वर्न क्यामेराको प्रयोग गर्ने तयारीसमेत गरिएको छ ।

आवश्यकताअनुसार ड्रोन परिचालन गरी सम्बन्धित क्षेत्रको सुरक्षा अवस्था र गतिविधिको अनुगमन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

चाडपर्व लक्षित ट्राफिक व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा रहेका एक हजार छ सय ट्राफिक प्रहरीलाई परिचालन गरिनेछ । ट्राफिक प्रहरीको जनशक्तिले मात्रै नपुगेको अवस्थामा जनपथ प्रहरी र सिभिल प्रहरीको समेत सहयोग लिइने सुवेदीले बताउनुभयो । उहाँका अनुसार विभिन्न स्थानमा हुने चेकजाँच र निगरानी पनि ट्राफिक प्रहरी तथा जनपथ प्रहरीको संयुक्त टोलीबाट सञ्चालन हुँदै आएको छ ।

प्रहरी परिचालनलाई प्रभावकारी बनाउन चेकपोइन्टहरूमा ट्राफिक प्रहरी र जनपथ प्रहरी संयुक्त रूपमा खटिने गरेका छन् । त्यस्तै, सिपिआरी (सडक दुर्घटना वा आपतकालीन अवस्थामा घाइतेको ज्यान बचाउन प्रयोग गरिने एक प्राथमिक उपचार विधि)मा पनि जनपथ तथा सिभिल प्रहरीको सहभागिता रहने गरेको छ । यसरी संयुक्त रूपमा परिचालन हुँदा चेकजाँच, निगरानी र ट्राफिक व्यवस्थापनका कामलाई थप व्यवस्थित बनाउन सहयोग पुगेको उहाँको भनाइ छ ।

चाडपर्वको समयमा सवारी चाप, यात्रुको आवागमन र धार्मिक गतिविधि एकैसाथ बढ्ने भएकाले ट्राफिक प्रहरीले उपलब्ध जनशक्ति र प्रविधिको समन्वयमा व्यवस्थापनको काम गरिरहेको छ ।

एक हजार ६ सय ट्राफिक प्रहरीसहित जनपथ तथा सिभिल प्रहरीको संयुक्त परिचालनबाट आवश्यक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सकिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया