रूपन्देही।युवा क्रिकेट खेलाडीको प्रतिभा पहिचान, खेलकौशल विकास र प्रतिस्पर्धात्मक अनुभव अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीमा ‘एकेडेमी फ्रेण्डसीप सिरिज–२०८३’ सुरु भएको छ।

रुपन्देही क्रिकेट संघको आयोजनामा आइतबारदेखि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिता आगामी कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा रुपन्देही क्रिकेट एकेडेमी र काठमाडौँस्थित हिमालयन स्पोट्र्स म्यानेजमेन्ट एकेडेमीका खेलाडी सहभागी छन्।

संघका कोषाध्यक्ष धीरज अधिकारी क्षेत्रीका अनुसार प्रतियोगितामा १५ वर्षमुनि, १४ वर्षमुनि र १२ वर्षमुनिका खेलाडीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ। संघका सचिव उदयकुमार मल्लिकले दुवै एकेडेमीका खेलाडीलाई खेल अभ्याससँगै प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र एकअर्काबाट सिक्ने वातावरण निर्माण गर्ने उद्देश्यले सिरिज आयोजना गरिएको बताए।

प्रतियोगिता उद्घाटन गर्दै पर्यटन व्यवसायी अमितकुमार गुप्ताले सानै उमेरदेखि बालबालिकाले क्रिकेटप्रति देखाएको रुचि सकारात्मक रहेको जनाए। अभिभावकले आफ्ना बालबालिकालाई खेल प्रशिक्षणमा सहभागी गराउनु नेपाली क्रिकेटको भविष्यका लागि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

नेपाल क्रिकेट संघका पूर्वकार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले खेलाडीले प्रशिक्षकका सुझावलाई आत्मसात् गर्दै अनुशासन र निरन्तर अभ्यासमा ध्यान दिनुपर्ने बताए। पढाइलाई निरन्तरता दिँदै खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गर्न उनले खेलाडीलाई आग्रह गरे।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य अमृत भट्टराईले युवा खेलाडीको क्षमता विकासका लागि नियमित प्रतियोगितामा सहभागिता आवश्यक रहेको बताए। धेरै खेल खेल्ने अवसरले खेलाडीलाई नयाँ सीप सिक्न र आफ्नो कमजोरी सुधार गर्न मद्दत पुग्ने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया