मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किएका १३ वर्षीया एन्जी बराइली र १६ वर्षीया शीतल घिमिरे हालसम्म घर नफर्किएपछि परिवार चिन्तित बनेका छन्। बेपत्ता हुनेमा पथरी शनिश्चरे नगरपालिका–२ की एन्जी बराइली र वडा नम्बर ७ की शीतल घिमिरे रहेका छन्।

परिवारका अनुसार दुवै किशोरी शनिबार घरबाट निस्किएका थिए। त्यसयता उनीहरू परिवारको सम्पर्कमा आएका छैनन्। दुवै किशोरी एकैसाथ सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी गराएको छ। इलाका प्रहरी कार्यालय पथरीले किशोरीहरू बेपत्ता भएको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले उनीहरू अन्तिम पटक कहाँ देखिएका थिए, सालबारी पुगेका थिए वा थिएनन् र त्यसपछि कहाँ गएका हुन सक्छन् भन्ने विषयमा जानकारी सङ्कलन गरिरहेको छ। तीन दिन बितिसक्दा पनि किशोरीहरूको अवस्था र उनीहरू रहेको स्थानबारे जानकारी प्राप्त हुन सकेको छैन।

तपाईको प्रतिक्रिया