जहदा । बाल क्लबबाट सामाजिक सेवाको यात्रा सुरु गरेका बुद्धदेव यादव पछिल्लो समय शिक्षा, युवा नेतृत्व, महिला सशक्तीकरण र सामुदायिक विकासका क्षेत्रमा सक्रिय छन्। २०६४ सालदेखि सामाजिक गतिविधिमा संलग्न यादवले बाल अधिकारदेखि विद्यालय व्यवस्थापनसम्मका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्।
बाल क्लबमा आबद्ध भएर सामाजिक काम सुरु गरेका यादव मोरङ जिल्ला बाल क्लबको सचिवसमेत बनेका थिए। उक्त जिम्मेवारीमा रहँदा उनले बालबालिकाको हकहित संरक्षण, नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका गतिविधिमा काम गरेका थिए। त्यसपछि विभिन्न युवा क्लबको सञ्चालन र व्यवस्थापनमा संलग्न हुँदै युवालाई सामाजिक गतिविधिमा जोड्ने अभियानमा सक्रिय रहे।
मानव अधिकारका क्षेत्रमा समेत अनुभव हासिल गरेका यादवले राष्ट्रिय मानव अधिकार आयोगमा ६ महिना इन्टर्नसिप गरेका थिए। त्यसैगरी, इन्सेक विराटनगरमा तीन वर्ष काम गर्ने क्रममा मानव अधिकार, सामाजिक न्याय र नागरिकका आधारभूत अधिकारका विषयमा अनुभव बटुले।
तत्कालीन बुधनगर र भातिगछ गाविसमा सञ्चालित गरिबी निवारणसम्बन्धी कार्यक्रममार्फत विपन्न समुदायको जीवनस्तर सुधारका गतिविधिमा पनि उनी सहभागी भए। बिआईसी नेपाल, विराटनगरको कार्यक्रमअन्तर्गत जहदा गाउँपालिकामा एक वर्ष शिक्षा क्षेत्रमा काम गरेका यादवले महिलाका लागि सञ्चालित तीनमहिने साक्षरता कार्यक्रममा सहजकर्ताको भूमिका पनि निर्वाह गरेका थिए।
महिला तथा समुदायको आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिँदै उनले सिलाइ–कटाइ, गुडिया निर्माणलगायत सीपमूलक तालिम सञ्चालनमा समेत योगदान पुर्याएका छन्। बालबालिका, युवा तथा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्दै क्षमता विकास र नेतृत्व विकासका कार्यक्रम सञ्चालनमा सक्रिय रहँदै आएका छन्।
धार्मिक तथा शैक्षिक क्षेत्रमा पनि यादवको संलग्नता छ। उनी श्री रामजानकी मन्दिर व्यवस्थापन समितिका सदस्य हुन्। श्री दुर्गा जी मन्दिर व्यवस्थापन समितिमा पाँच वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेका उनले धार्मिक तथा सामाजिक गतिविधिको व्यवस्थापनमा काम गरेका थिए। श्री दुर्गा माध्यमिक विद्यालयमा तीन वर्ष सदस्यका रूपमा काम गरिसकेका यादव हाल जहदा–१ स्थित श्री दुर्गा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष छन्।
सामुदायिक आर्थिक विकासका क्षेत्रमा पनि उनको अनुभव छ। दुर्गा कृषि सहकारी संस्था लिमिटेड, जहदा–१ का संस्थापक सचिवका रूपमा उनले पाँच वर्षसम्म संस्थाको सञ्चालन तथा व्यवस्थापनमा काम गरेका थिए।
विपद्का समयमा समेत समुदायसँग जोडिएर काम गरेका यादवले जहदा क्षेत्रमा बाढीपीडितलाई सहयोग तथा कोरोना महामारीका बेला राहत र जनचेतनामूलक गतिविधिमा सहभागिता जनाएका थिए।
बाल क्लबको नेतृत्वबाट सुरु भएको उनको सामाजिक यात्रा अहिले शिक्षा, मानव अधिकार, सहकारी, महिला सशक्तीकरण र सामुदायिक विकाससम्म विस्तार भएको छ। विभिन्न संस्थामा काम गरेको अनुभवलाई स्थानीय तहको विकासमा उपयोग गर्ने उनको चाहना रहेको छ।
शिक्षा, सामाजिक न्याय, युवा परिचालन र विपन्न समुदायको उत्थानलाई प्राथमिकता दिएर अघि बढे जहदा गाउँपालिकाको विकासमा योगदान पुर्याउन सकिने यादवको विश्वास छ।





