जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालमा जन्मिएको नवजात शिशु साटिएको भन्दै डीएनए परीक्षण गराइदिन माग गरिएको छ ।

महोत्तरीको भङ्गहा नगरपालिका–९ निवासी २४ वर्षीय अरुण सदाले आफ्नो बच्चा साटिएको आशंका गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका हुन् ।

अरुणका अनुसार, उनकी २० वर्षीया पत्नी सरिता सदालाई प्रसव व्यथा लागेपछि शुक्रबार अपराह्न ४ बजे जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

साँझ ६ बजेर ३७ मिनेटमा उनले बच्चा जन्माएकी थिइन् ।

अरुणले बच्चा जन्मिएपछि आफू र घरका अन्य सदस्यलाई देखाउँदा छोरा रहेको तर केही समयपछि हेर्दा छोरी देखिएको दाबी गरेका छन् । अस्पतालका नर्सले पनि छोरी नै भएको बताएपछि बच्चा साटिएको आशंका उत्पन्न भएको उनको भनाइ छ ।

घटनाको सत्यतथ्य पत्ता लगाउन नवजात शिशु र आफ्नो डीएनए परीक्षणका लागि नमुना संकलन गरिदिन अरुणले शनिबार प्रहरीसमक्ष माग गरेका हुन् ।

तपाईको प्रतिक्रिया