विराटनगर / कात्तिक १२ देखि १५ गतेसम्म नेपालका विभिन्न जिल्लामा वर्षा हुने र केही स्थानमा भारी वर्षाका कारण जोखिम बढ्न सक्ने पूर्वानुमान गरिको छ।

मौसमविद् विनोद पोखरेलले अहिलेको पूर्वानुमानले नेपालका धेरै स्थानमा वर्षाको सम्भावना देखाएको बताए। विशेषगरी शुक्रबार र शनिबार वर्षासम्बन्धी जोखिम तुलनात्मक रूपमा बढी रहेको उनको भनाइ छ।

काठमाडौंसहित लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका २८ जिल्लामा वर्षासम्बन्धी जोखिमको संकेत देखिएको पोखरेलले उल्लेख गरेका छन्। मनाङ जिल्लामा पनि यसपटक विशेष ध्यान दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

‘काठमाडौं लगायत लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशीका २८ जिल्लामा वर्षासम्बन्धी जोखिमको संकेत छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मनाङमा पनि यस पटक फेरि विशेष ध्यान दिनुपर्ने देखिएको छ।’

यद्यपि, मौसमको पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले वर्षा हुने स्थान, समय र मात्रामा फेरबदल आउन सक्ने उनले बताएका छन्। उनले आफ्नो जिल्लाको मौसमको अवस्था बुझ्न नियमित पूर्वानुमान अपडेट तथा आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया