काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् ।
बडादसैँको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो मुलुकका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारा मजबुत बनाउँदै मुलुकमा रहेको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई थप सुदृढ बनाउनेछ ।’
भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । ‘बाढी प्रभावित व्यक्तिहरूको पुनर्स्थापनाका लागि एकताबद्ध भई अघि बढ्न म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्।
उनले बडादसैँले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जाको विकास गर्दै राष्ट्रको कल्याणका लागि शक्ति प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।





