अनिल पराजुली

हेटौँडा, कात्तिक ४ गते । बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका साथै सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानको धरोहर भएको बताउनुभएको छ ।

बडादसैँ, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले विविध जातजाति, भाषा, धर्म र संस्कृतिको पर्वले नेपालीबिच भाइचारा, सहिष्णुता र एकताको भावना बलियो बनाउँदैआएको बताउनुभएको हो ।

मुख्यमन्त्री थापा मगरले चाडपर्वले समाजमा प्रेम, सहयोग, सद्भाव र सहअस्तित्वको भावना अभिवृद्धि गर्दै समुन्नत तथा समावेशी समाज निर्माणका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

यस वर्षका चाडपर्व मनाइरहँदा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पीडा र कठिनाइलाई पनि स्मरण गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ । विशेषगरी भोटेकोसी र बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित नागरिकको अवस्थाले आफूलाई मर्माहत बनाएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री थापा मगरले विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उनीहरूको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । उहाँले प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया