सोलुखुम्बु । प्रदेश लेखा इकाई कार्यालय ओखलढुंगाका कार्यालय प्रमुख तथा आठौँ तहका वरिष्ठ लेखा अधिकृत पृथ्वीमान लिम्बुले आफ्नै खर्चमा ६ हजार ४७० मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरेका छन्। निजी खर्चमा मेरापिक आरोहण गर्ने नेपालकै पहिलो अधिकृत कर्मचारी भएको दाबी गर्दै लिम्बुले हिमाल आरोहणमा नयाँ उपलब्धि हासिल गरेका हुन्।
उनले सन् २०२६ अक्टोबर १८ अर्थात् आइतबार बिहान ७ बजेर १० मिनेटमा मेरापिक हिमालको चुचुरो चुमेका थिए। बिहान ३ बजेर ५ मिनेटमा ५ हजार ८०० मिटर उचाइमा रहेको उच्च शिविरबाट आरोहण सुरु गरेका लिम्बु करिब चार घण्टाको कठिन यात्रापछि चुचुरोमा पुगेका हुन्।
हिमाल आरोहणका लागि उनले व्यक्तिगत रूपमा करिब १० लाख रुपैयाँ खर्च गरेका छन्। उनको आरोहण व्यवस्थापन एटलस अल्पाइन एक्सपिडिसन प्रालिले गरेको थियो भने पथप्रदर्शकका रूपमा सिङ्गी लामा सहभागी थिए।
सरकारी सेवामा कार्यरत रहँदै आफ्नै खर्चमा हिमाल आरोहण गरेका लिम्बुले यसअघि पनि विभिन्न उच्च हिमाली क्षेत्रको यात्रा गरिसकेका छन्।
यसै वर्ष उनले ४ हजार ५०० मिटर उचाइमा रहेको मार्डी आधार शिविर र ५ हजार ३५४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरको यात्रा पूरा गरेका थिए।
ती यात्रापछि आफ्नै देशका हिमाल आरोहण गर्नुपर्छ भन्ने सोच विकास भएको लिम्बुले बताए।
उनका अनुसार हिमाली यात्राले साहसिक अनुभव मात्र नभई त्यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक अवस्था र भौगोलिक बनोटबारे प्रत्यक्ष अध्ययन गर्ने अवसरसमेत प्रदान गरेको छ।
हिमाल चढेर फर्किएका लिम्बुले सुनाए पर्यटन पूर्वाधारका समस्या
मेरापिक आरोहणको सफलतासँगै लिम्बुले हिमाली पर्यटन क्षेत्रमा देखिएका पूर्वाधारसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
उनका अनुसार आरोहणका क्रममा आधार शिविर र उच्च शिविरमा रहेका शौचालय अत्यधिक फोहोर भएकाले प्रयोग गर्न सकिने अवस्था थिएन।
शौचालयको उचित व्यवस्थापन नहुँदा आरोहीहरू खुला हिमाली क्षेत्रमा दिसापिसाब गर्न बाध्य हुने गरेको उनले बताए।
त्यस्तै, हिमाली क्षेत्रमा खोलामाथि बनाइएका साँघु जीर्ण हुँदा पर्यटक तथा आरोहीलाई आवतजावतमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको उनको अनुभव छ।
हिमाली वातावरण स्वच्छ राख्न र पर्यटकको यात्रालाई सुरक्षित तथा सहज बनाउन शौचालय व्यवस्थापन, जीर्ण साँघुको मर्मत र पदमार्ग सुधारमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।
यस्ता पूर्वाधारको विकासले हिमाली पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने लिम्बुको विश्वास छ।
लिम्बुले हिमाल आरोहणमा रुचि राख्ने सरकारी कर्मचारीलाई प्रदेश तथा सङ्घीय सरकारले आवश्यक सहयोग, अवसर र बजेट उपलब्ध गराउनुपर्ने बताएका छन्।
हिमाल आरोहणलाई साहसिक गतिविधिका रूपमा मात्र नभई कर्मचारीको ज्ञान, सीप, क्षमता र अनुभव अभिवृद्धि गर्ने अवसरका रूपमा समेत लिनुपर्ने उनको भनाइ छ।
यस्ता गतिविधिले कर्मचारीलाई नयाँ भौगोलिक, सामाजिक तथा सांस्कृतिक परिवेश बुझ्ने अवसर प्रदान गर्ने र त्यसबाट प्राप्त अनुभवले संस्थागत कार्यक्षमता अभिवृद्धिमा समेत योगदान पुग्ने उनले बताए।
आफ्नै कमाइबाट करिब १० लाख रुपैयाँ खर्चेर मेरापिकको चुचुरो चुमेका लिम्बुको आरोहणले सरकारी सेवासँगै साहसिक पर्यटनमा पनि सक्रिय हुन सकिन्छ भन्ने सन्देश दिएको छ।





