विराटनगर । झापामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा बालिका र वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षीया बालिका र ७३ वर्षीय वृद्ध छन् ।
कमल गाउँपालिका–५ टुकुरेमा आफ्नै बुवाले चलाएको सिटी सफारीबाट लडेर चक्काले किच्दा बालिकाको मृत्यु भएको हो । इलामको चुलाचुली गाउँपालिका–४ का ३३ वर्षीय डम्बर लिम्बूले चलाएको प्रदेश १–०१–००२ ह ५७९३ नम्बरको सिटी सफारीमा सवार उनकी छोरी लोजिना लिम्बू दुर्घटनामा परेकी थिइन् ।
प्रहरीका अनुसार दमकबाट पेल्टिमारीतर्फ जाँदै गर्दा आइतबार साँझ करिब ५ः३० बजेतिर बालिका अचानक सफारीबाट लडेकी थिइन् । लडेपछि सफारीको बायाँ चक्काले किचेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याइएको थियो ।
उपचारकै क्रममा साँझ ६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, दमक नगरपालिका–९ बुद्धचोकमा सुमोको ठक्करबाट ७३ वर्षीय माधवप्रसाद भट्टराईको पनि मृत्यु भएको छ । आइतबार साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १–०१–०२५ च ४२०९ नम्बरको सुमो गाडीले पैदल हिँडिरहेका भट्टराईलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
टाउको र बायाँ हातमा चोट लागेका उनलाई सुरुमा दमकस्थित निम्स अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल रेफर गरिएको थियो ।
उपचारकै क्रममा राति १०ः४० बजेतिर भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि सुमो चालक मोरङको उर्लाबारी नगरपालिका–९ का ३९ वर्षीय विष्णु न्यौपाने र सुमो इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार चालकको साथमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फेला परेन । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





