काठमाडौँ, असोज २६ गते । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९ औँ वार्षिक साधारण सभामा सात जना फोटो पत्रकार सम्मानित भएका छन् ।
साधारण सभामा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ पाँच विधामा प्रदान गरिएको हो । साहसिक विधामा अनुप प्रधान, पर्यावरण–पर्यटनमा सागर गिरी, मनोरञ्जनमा बर्दी थापा, सांस्कृतिकमा प्रकाश गोपाली र खेलकुदमा वसन्त शेर्पा पुरस्कृत हुनुभयो । यसै गरी हरिशसिंह नगाललाई माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार–२०८३ तथा रामशरण महर्जन ‘अजय’ लाई एनएफपिजे प्रेसिडेन्ट अवार्ड–२०८३ प्रदान गरिएको थियो । सो कार्यक्रममा चौधरी ट्रेडर्सका सञ्चालक प्रमोद चौधरीलाई कदरपत्रसहित सम्मान गरिएको थियो । अध्यक्ष प्रदीपराज वन्तले कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोग र तस्बिरको प्रतिलिपि अधिकार संरक्षण चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै फोटो पत्रकारको श्रम र अधिकारको सम्मानका लागि प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभयो ।





