इलाम- जिल्लाको पर्यटन प्रवर्धनका लागि इलामको पर्यटकीयस्थल कन्याममा सुविधासम्पन्न होटल कन्याम वृक्षालय सञ्चालनमा ल्याइएको छ ।
कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाले निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी गरेको ‘टि टेस्टिङ सेन्टर’को भवनमा वृक्षालय सञ्चालनमा ल्याइएको सञ्चालक समिति अध्यक्ष उत्तमकुमार श्रेष्ठले बताए ।
उत्तम-प्रगति निर्माण सेवाले सूर्याेदय नगरपालिकासँग १० वर्षका लागि भाडामा लिएर सञ्चालनमा आएको वृक्षालयलाई थप दुई करोड रुपैयाँभन्दा बढी लागतमा आवश्यक भित्री संरचना तयार गरी नगरस्तरीय होटल सञ्चालनमा ल्याइएको बताइएको छ ।
चियाको अध्ययन-अनुसन्धान गर्न र इलाम भित्रिने पर्यटकलाई थप सुविधा दिन वृक्षालयले काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । ‘हामीले होटल सञ्चालन गर्नेमात्र उद्देश्य राखेका होइनौं, कन्यामलाई अनुभव गर्ने स्थल र प्रदेशकै नमुना आतिथ्य केन्द्रका रूपमा विकास गर्न यो वृक्षालय सञ्चालनमा ल्याएका हौं,’ श्रेष्ठले भने, ‘चियालाई बगान, किसानको मेहनत र चियाको स्वादलाई पर्यटनसँग जोड्न चिया पर्यटनको बलियो आधारका लागि नयाँ सुरुआत गरेका हौं ।’
वृक्षालयमा अमेरिकी र युरोपियन मुलुकका मात्र नभई नजिकमै रहेका भारत, भुटान, बंगलादेश, बर्मालगायत देशबाट पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताइएको छ ।
विश्व बजारमा नेपालको पर्यटनको अवस्थासमेत बुझेर फर्किएका ४० वर्षमुनिका चार युवाले लगानी गरेको वृक्षालय कन्याम एउटा शाखाका रूमा सञ्चालनमा आएको जनाइएको छ ।
यसअघि काठमाडौं, चितवन, लमजुङ र बाँकेमा वृक्षालयका शाखा सञ्चालनमा छन् । देशैभर विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिए ।





