काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘युथ भिडियो च्यालेञ्ज’ र ‘नेपाल पानोरमा’ अन्तर्गत २२ वटा भिडियो छनोट गरेको छ । शुक्रबार पर्यटन बोर्डमा आयोजित पत्रकार भेटघाटमा ५ मिनेटसम्मका १२ र ३० मिनेटसम्मका १० भिडियो छनोट गरिएको जानकारी दिइएको हो ।

‘युथ भिडियो च्यालेञ्ज’ अन्तर्गत ‘माइ कल्चर, माइ हेरिटेज’ शीर्षकमा प्राप्त ३५ भिडियोमध्ये १२ वटा छनोट भएका छन् । त्यस्तै, ‘नेपाल पानोरमा’ अन्तर्गत वृत्तचित्र, कथात्मक, एनिमेसन र प्रयोगात्मक विधाका ७५ भिडियोमध्ये १० वटा छानिएका छन् ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंको मौलिक संस्कृति, सम्पदा र स्थानीय सिर्जनालाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् ।

छनोट भएका भिडियो कात्तिक १५ गते राष्ट्रिय सभागृहमा प्रदर्शन गरिनेछ । युथ भिडियो च्यालेञ्जमा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । नेपाल पानोरमामा छनोट भएका प्रत्येक चलचित्रलाई १ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइनेछ ।

काठमाडौं चलचित्र महोत्सवअन्तर्गत कात्तिक ८ गते सम्पदा दौड आयोजना हुनेछ भने कात्तिक १३, १४ र १५ गते मुख्य कार्यक्रम सञ्चालन हुनेछन् । महोत्सवमा नेपाली पुराना चलचित्रको विशेष प्रदर्शन तथा अन्तर्राष्ट्रिय चलचित्रसमेत देखाइने महानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया