विराटनगर । कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण बस्तिले प्रदेश प्रमुख पर्शुराम खापुङलाई आर्थिक वर्ष २०८२/८३ को नवौँ वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको छ।
प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज आयोजित कार्यक्रममा मुख्य न्यायाधिवक्ता बस्तिले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले लोकतन्त्रको सुदृढीकरण र कानुनी शासनको कार्यान्वयनमा मुख्य न्यायाधिवक्ताको कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। उहाँले प्रदेशमा कानुन निर्माणका क्रममा कार्यालयले प्रदान गर्दै आएको सुझाव र परामर्श महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो।
प्रदेश प्रमुख खापुङले समुदाय तथा विद्यार्थीलाई कानुनी साक्षरता प्रदान गर्ने कार्यालयको कार्यको प्रशंसा गर्नुभयो। साथै, कारागार तथा प्रहरी हिरासतको अनुगमन गरी सुधारका लागि दिइएका सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा मुख्य न्यायाधिवक्ता बस्तिले प्रदेशमा कानुनी शासनको प्रभावकारी उपस्थिति सुनिश्चित गर्न कार्यालयले काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले १४५ वटा मुद्दा फर्छ्योट गरेको छ, जुन कुल मुद्दाको ६२ प्रतिशत हो।





