उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन् ।

आज बिहान करिब १०:२५ बजे आँखा अस्पतालबाट मेनचोकतर्फ जाँदै गरेको पानी बोकेको को.प्र.०५–००१ च ०१९० नम्बरको पिकअपमा सोही दिशाबाट आएको को.प्र.०५–००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किएको थियो ।

दुर्घटनामा त्रियुगा नगरपालिका–११ निवासी शिवकुमार सदाकी दुई वर्षीया छोरी रागिनी सदा गम्भीर घाइते भएकी थिइन् । उनलाई जिल्ला अस्पताल उदयपुर पुर्‍याइएकोमा दिउँसो १२:५६ बजे उपचारका क्रममा मृत्यु भएको हो । घाइते ७० वर्षीया कन्नि सदाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको र आवश्यक कागजात साथमा नराखेको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया