मोरङ । चाडपर्वको उल्लाससँगै स्थानीय स्वाद, कला र संस्कृतिको उत्सव मनाउन मोरङको सुन्दरहरैँचामा ‘सुन्दरहरैँचा फुड फेस्टिबल–२०८३’ आयोजना हुने भएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म विराटचोकस्थित सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन हुने फेस्टिभलमा दुई लाखभन्दा बढी दर्शक तथा अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखिएको छ।
स्थानीय उत्पादनको प्रवर्द्धन, मौलिक खानपानको पहिचान, व्यापार विस्तार र पर्यटन विकासलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको फेस्टिबलमा सांस्कृतिक विविधता र मनोरञ्जनलाई समेत विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ। दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आयोजना हुन लागेको फेस्टिभलले सुन्दरहरैँचालाई उत्सवमय बनाउने अपेक्षा गरिएको छ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी फेस्टिभलको तयारी, प्रमुख आकर्षण, व्यवस्थापन तथा आर्थिक योजनाबारे जानकारी गराएको हो। सुन्दर होटल पर्यटन व्यवसायी सङ्घ सह–आयोजक रहेको फेस्टिभलमा स्थानीय स्वाददेखि राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुतिसम्मका आकर्षण रहनेछन्।
राजेशपायल राईदेखि रचना रिमालसम्मको प्रस्तुति
फेस्टिबलको प्रमुख आकर्षणका रूपमा चर्चित गायक राजेशपायल राई, सविन राई, डम्बर नेपाली, मिलन परियार तथा गायिका रचना रिमाल, प्रीति आले मगर र एलिना चौहानलगायत कलाकारले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ। राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुतिसँगै विभिन्न मनोरञ्जनात्मक र खेलकुद गतिविधिसमेत सञ्चालन गरिनेछ।
बेलुका १० बजेसम्म सञ्चालन हुने फेस्टिभललाई परिवारसहित घुम्न, विभिन्न परिकारको स्वाद लिन र मनोरञ्जन गर्न सकिने उत्सवका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका दर्शकलाई लक्षित गरी कार्यक्रम तयार पारिएको आयोजकको भनाइ छ।
नेवारी परिकारदेखि स्थानीय उत्पादनसम्म
फेस्टिबलमा नेवारी खानासहित विभिन्न जातजातिका मौलिक परिकारलाई विशेष प्राथमिकता दिइनेछ। कृषि तथा घरेलु उत्पादन, हस्तकला र व्यापारिक सामग्रीको प्रदर्शनी तथा बिक्रीसमेत गरिनेछ। यसले स्थानीय उत्पादनको पहिचान विस्तार गर्नुका साथै उद्यमी तथा व्यवसायीलाई आफ्ना वस्तु र सेवा उपभोक्तामाझ पुर्याउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
फेस्टिबलमा विभिन्न प्रकृतिका १४ वटा व्यावसायिक स्टल रहनेछन् भने स्थानीय उत्पादन तथा सामाजिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धनका लागि छवटा निःशुल्क स्टल उपलब्ध गराइनेछ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले फेस्टिभललाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय उत्पादन, व्यापार, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्न खोजिएको बताए। स्थानीय व्यवसायीलाई बजारसँग जोड्ने, उपभोक्तालाई स्थानीय उत्पादनसँग परिचित गराउने र सुन्दरहरैँचाको आर्थिक तथा पर्यटकीय पहिचान विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे।
फेस्टिभलका संयोजक ज्ञानप्रसाद ढकालले चाडपर्वको उल्लासलाई स्थानीय स्वाद, संस्कृति र मनोरञ्जनसँग जोड्ने गरी तयारी भइरहेको बताए। मौलिक खानपान, भाषा, भेषभूषा र परम्पराको संरक्षण तथा प्रचारप्रसारमा फेस्टिभलले योगदान पुर्याउने उनको भनाइ छ।
सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान
फेस्टिबललाई व्यवस्थित, सुरक्षित र पारिवारिक वातावरणमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको सङ्घका महासचिव हरि कार्कीले जानकारी दिए। उनका अनुसार कार्यक्रम अवधिभर सुरक्षा, सरसफाइ, विद्युत्, खानेपानी, पार्किङ, प्राथमिक उपचार र भीड व्यवस्थापनलाई प्राथमिकतामा राखिनेछ। यसका लागि सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरिनेछ।
एक करोड दुई लाख आम्दानीको अनुमान
आयोजकले फेस्टिबलबाट एक करोड दुई लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ। टिकट बिक्रीबाट ८५ लाख, मुख्य प्रायोजक तथा सह–प्रायोजकबाट १० लाख र मनोरञ्जन तथा खेलकुद गतिविधिबाट सात लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।त्यस्तै, कलाकार व्यवस्थापन, मैदान व्यवस्थापन, विद्युत्, खानेपानी, सरसफाइ, कर्मचारी पारिश्रमिक, अतिथि सत्कार, आवास, खाना तथा प्रचारप्रसारलगायत शीर्षकमा ८७ लाख रुपैयाँ खर्च हुने अनुमान छ। आयोजकले आम्दानी र खर्चको प्रक्षेपणका आधारमा १५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखेको छ।बचत रकम सङ्घको संस्थागत विकास, व्यवसायीको हित, सामाजिक उत्तरदायित्व तथा आगामी कार्यक्रम सञ्चालनमा उपयोग गरिने जनाइएको छ।
फेस्टिबलको मुख्य प्रायोजक नेपालीरिका होटल रहेको छ। अन्य प्रायोजकमा पार्थिभरा फुड प्रोडक्ट, चामुण्डा फुड (बेली), कञ्चनजङ्घा इन्जिनियरिङ प्रा.लि., प्रणाम इँटा, प्रिन्स इँटा, टुबोर्ग बियर, म्याक्स टाइगर इनर्जी ड्रिंक्स, ग्रिनसिटी हाउजिङ र आर.एन.जी. ग्रुप रहेका छन्।
स्थानीय स्वाद, संस्कृति, व्यापार र मनोरञ्जनलाई एउटै थलोमा जोड्ने लक्ष्यसहित आयोजना हुन लागेको फेस्टिभलले सुन्दरहरैँचाको आर्थिक गतिविधि चलायमान बनाउनुका साथै स्थानीय व्यवसायीका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। आयोजकले फेस्टिभललाई सभ्य, सुरक्षित, व्यवस्थित र सबै उमेर समूहका लागि आकर्षक उत्सव बनाउने प्रतिबद्धता जनाएको छ।





