काठमाडौँ : नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले १ रुपैयाँ दरका ४० करोड थान साधारण चल्तीका सिक्काको डिजाइन, टक्साउ, आपूर्ति तथा ढुवानीका लागि आइतबार पूर्व-योग्य सूचीमा रहेका कम्पनीहरूबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र आह्वान गरेको हो ।

यस अघि मार्च १२ मा प्रकाशित सूचना अनुसार पूर्व-योग्य ठहरिएका बोलपत्रदाताहरूले मात्र यस खरिद प्रक्रियामा भाग लिन पाउनेछन् । यो खरिद कार्य ‘सिंगल स्टेज टू इन्भेलप’ विधि अन्तर्गत सम्पन्न हुनेछ, जस अनुसार प्राविधिक प्रस्ताव र आर्थिक प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी खाममा पेस गर्नुपर्नेछ ।

इच्छुक पूर्व-योग्य बोलपत्रदाताहरूले कम्पनी दर्ता प्रमाणपत्र, अधिकारपत्र र बैंक भौचर पेस गरी नोभेम्बर २ सम्म कार्यालय समयभित्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली वा टक्सार प्रभाग, बबरमहलबाट बोलपत्र कागजात खरिद गर्न सक्नेछन् ।

बोलपत्र फारामको शुल्क गैर-फिर्ताहुने गरी नेपाली रुपैयाँमा २० हजार अमेरिकी डलरमा १३१ वा युरोमा ११५ तोकिएको छ, जुन राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा रहेको तोकिएको खातामा जम्मा गर्नुपर्नेछ ।

बोलपत्रसम्बन्धी पूर्व-बैठक अक्टोबर १५ को मध्यान्ह १२ बजे मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा आयोजना गरिनेछ । सिलबन्दी बोलपत्र पेस गर्ने अन्तिम समय नोभेम्बर ३ को मध्यान्ह १२ बजेसम्म तोकिएको छ भने प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिहरूको उपस्थितिमा खोलिनेछ ।

पेस गरिने बोलपत्रको मान्यता अवधि खोलिएको मितिदेखि १२० दिनको हुने सूचनामा उल्लेख छ । साथै, बोलपत्रदाताले कम्तीमा १ लाख ४८ हजार अमेरिकी डलरको बोलपत्र जमानत पेस गर्नुपर्नेछ, जसको मान्यता अवधि अप्रिल २, २०२७ सम्म हुनुपर्नेछ ।

सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेका कम्पनी वा तिनका सञ्चालक र लगानीकर्ताहरू यस प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

तपाईको प्रतिक्रिया