विराटनगर । प्रकृति तथा संस्कृति संरक्षण अभियानअन्तर्गत भारत–नेपाल सामाजिक सांस्कृतिक मञ्चले मोरङको जहदास्थित दुर्गा मन्दिरलाई पंखा सहयोग गरेको छ।
मञ्चले लक्ष्मीनिया युवा क्लबका अध्यक्ष नितेश साहलाई पंखा हस्तान्तरण गरेको हो। कार्यक्रममा मञ्चका अध्यक्ष राजेश कुमार शर्माले नेपाल–भारत सीमा क्षेत्रमा प्रकृति तथा संस्कृति संरक्षणलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
उनका अनुसार अभियानअन्तर्गत सीमा क्षेत्रका विभिन्न मन्दिर तथा धार्मिकस्थलमा शिवलिंग स्थापना गर्नुका साथै रुद्राक्षका बिरुवा रोप्ने र वातावरण संरक्षणसम्बन्धी गतिविधि सञ्चालन भइरहेको छ। युवालाई वातावरण संरक्षणसँगै आध्यात्मिक तथा सांस्कृतिक गतिविधिमा जोडेर सकारात्मक बाटोतर्फ अघि बढाउनु अभियानको मुख्य उद्देश्य रहेको शर्माले बताए।
“युवालाई प्रकृति र संस्कृतिसँग जोड्दै गलत गतिविधिबाट टाढा राख्नु आवश्यक छ,” अध्यक्ष शर्माले भने, “विशेषगरी लागूऔषधको दुर्व्यसनबाट युवालाई जोगाउँदै सामाजिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।”
प्रकृति संरक्षणसँगै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा युवाको सहभागिता बढाउने लक्ष्यका साथ अभियानलाई निरन्तरता दिइने मञ्चले जनाएको छ।
कार्यक्रममा विनिता सिंह, अशोक यादव, श्यामसुन्दर मण्डललगायत मन्दिर व्यवस्थापन समितिका सदस्य तथा स्थानीयको उपस्थिति थियो।





