बाँके/ बाँकेको कोहलपुर नगरपालिका-११ रेडक्रस रोडस्थित थापा पोलिक्लिनिकमा उपचारका लागि गएकी एक महिलाको संवेदनशील अंग छोएको आरोपमा प्रहरीले पोलिक्लिनिक सञ्चालक गणेशबहादुर थापालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सामाजिक सञ्जालमा उपचारका क्रममा महिलाको संवेदनशील अंग छोएको/चलाएको भन्दै भिडियो पोस्ट भएपछि पीडितबाट करणीसम्बन्धी कसुरमा जाहेरी परेको थियो।
जाहेरीपछि प्रहरीले कोहलपुर नगरपालिका-११ बस्ने ६३ वर्षीय थापालाई पक्राउ गरेको हो। उनी सीएमए प्रमाणपत्र प्राप्त स्वास्थ्यकर्मी तथा थापा पोलिक्लिनिकका सञ्चालक रहेको प्रहरीले जनाएको छ।
थापालाई बाँके जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीका अनुसार नेपाल हेल्थ प्रोफेसनल काउन्सिलको आचारसंहिताअनुसार महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा संरक्षक (च्यापरोन) को उपस्थितिमा परीक्षण गर्नुपर्ने व्यवस्था छ।






