विराटनगर । नेपाल धितोपत्र बोर्ड (सेबोन) को आयोजनामा ‘वर्ल्ड इन्भेष्टर विक २०२६’ अन्तर्गत विराटनगरमा प्रभातफेरी र्याली आयोजना गरिएको छ।
बुधबार बिहान विराटनगर महानगरपालिका–७ स्थित सहिद रंगशालाबाट सुरु भएको प्रभातफेरी नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यको नेतृत्वमा सञ्चालन भएको थियो।
र्यालीमा नेपाल बीमा प्राधिकरणका कर्मचारी तथा नेपाल धितोपत्र बोर्डसँग आबद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिसहित करिब २०० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले लगानीकर्तालाई सचेत र सुरक्षित लगानीका लागि आग्रह गर्दै विभिन्न जनचेतनामूलक प्लेकार्ड प्रदर्शन गरेका थिए।
‘अपवाह होइन, तथ्यमा आधारित लगानी गरौँ’, ‘व्यक्तिगत पासवर्ड र ओटीपी कसैलाई सेयर नगरौँ’, ‘लगानी गर्नुअघि सूचनाको सुनिश्चित गरौँ’, ‘छोटो समयमा दोब्बर–तेब्बर नाफा, होसियार’, ‘शून्य लगानी तर राम्रो प्रतिफल, होसियार’ तथा ‘हल्लाको भरमा होइन, अध्ययन गरी लगानी गरौँ’ लगायतका नाराहरू र्यालीमा प्रदर्शन गरिएको थियो।
लगानीकर्तालाई बजारमा हुने गलत सूचना, प्रलोभन तथा ठगीबाट सचेत गराउँदै सुरक्षित र तथ्यमा आधारित लगानीको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
सहिद रंगशालाबाट सुरु भएको र्याली हस्पिटल चोक, जलजला चोक, मेन रोड हुँदै गोल्छा चोक र डाँफे चोक पुगेपछि पुनः सहिद रंगशालामा फर्किएको थियो। र्याली सहिद रंगशालामै पुगेर समापन भएको थियो।







