विराटनगर। ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा सुनसरीको इटहरीमा आयोजित ‘सीप तथा रोजगार मेला, २०८३’ मा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ। असोज १४ गतेदेखि २० गतेसम्म सञ्चालन भइरहेको मेलामा हालसम्म स्थलगत अन्तर्वार्तामार्फत ६६ जना बेरोजगार युवाहरूले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गरेका छन्।
मेला आयोजक तथा मन्त्रालयका सहसचिव हेमराज तामाङका अनुसार मेलामा सहभागी हुन कुल ४ हजार ५ सय २८ जना युवाहरूले नाम दर्ता गराएका थिए। जसमध्ये मेलाको तेस्रो दिन ११ जना र चौथो दिन ५५ जना गरी कुल ६६ जना युवाहरू विभिन्न कम्पनीहरूमा छनौट भएका हुन्।
मेलामा सञ्चालन गरिएको ‘जब म्याचिङ’ सत्रअन्तर्गत रोजगारदाता कम्पनीहरूले स्थलमै अन्तर्वार्ता लिएर जनशक्ति छनौट गरेका छन्। जसअनुसार भाटभटेनी सुपरमार्केटले अन्तर्वार्तामा सहभागी ३६ जनामध्ये १८ जनालाई रोजगारीका लागि चयन गरेको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सले २९ जना सहभागीमध्ये १७ जनालाई छनौट गरेको छ।
त्यसैगरी, सुदर्शन सेक्युरिटी कम्पनीले सुरक्षा गार्डतर्फ २१ जनामध्ये ९ जना, चौधरी ग्रुपले १० जनामध्ये ५ जना, जिल्ला होटल तथा पर्यटन व्यवसाय संघले ९ जनामध्ये ५ जना र एसियन फुड्सले अन्तर्वार्ता लिएका ७ जनामध्ये १ जनालाई रोजगारी प्रदान गरेका छन्।
रोजगारीको अवसरसँगै मेला नीतिगत बहस र युवा उत्प्रेरणाको केन्द्र समेत बनेको छ। मेलाका अवसरमा आयोजित ‘नेपालको श्रम बजार प्रवर्द्धनका लागि सीपयुक्त जनशक्तिको निर्माण र दीर्घकालीन उपयोग’ विषयक नीति संवादमा ४०० जनाभन्दा बढी सरोकारवाला तथा सहभागीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, युवाहरूलाई उत्प्रेरित गर्न आयोजित ‘करियर उडान संवाद शृङ्खला–४’ मा सूचना प्रविधि (आइटी) क्षेत्रका विज्ञहरू दीपेन चापागाईँ र विभूषण बिष्टले सहजीकरण गरेका थिए। ‘स्वदेशमै बसेर विश्व बजारमा पहुँचः आइ।टी। अवसर’ विषयक उक्त संवादमार्फत विज्ञहरूले आधुनिक प्रविधिको उपयोग गर्दै नेपालमै बसेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने र यहाँ आइटी क्षेत्रमा ठूलो सम्भावना रहेको सन्देश युवाहरूलाई दिएका थिए।
मेलामा युवाहरूको क्षमता अभिवृद्धिका लागि १० वटा विभिन्न विधामा अल्पकालीन सीपमूलक तालिम समेत सञ्चालन गरिएको थियो । जसमा २२० जना प्रशिक्षार्थी सहभागी भएका छन्। तीमध्ये आधुनिक प्रविधि ‘ओपन एआई’ तर्फ मात्रै १०५ जना युवाहरूले तालिम लिएका छन्। यसबाहेक अन्योलमा रहेका ४७ जना युवाहरूलाई व्यक्तिगत करियर काउन्सिलिङ सेवासमेत उपलब्ध गराइएको थियो।
यता सरकारको आधिकारिक पोर्टलमार्फत पनि रोजगारीका अवसरहरू विस्तार भइरहेका छन्। हालसम्म उक्त प्रणालीमा ५३३ रोजगारदाता कम्पनी र ६ हजार ६ सय १२ जना रोजगार खोजकर्ता सूचीकृत भइसकेका छन्, जहाँ विभिन्न कम्पनीहरूले ४४२ वटा पदका लागि कुल ६ हजार ५ सय रिक्त दरबन्दीहरू खुला गरेका छन्।





