कुमोद अधिकारी
विराटनगर,
कोशी प्रदेशको समृद्धि र विकासमा नागरिक समाजको भूमिका महत्वपूर्ण रहेकाले यसको प्रभावकारिता बढाउन नागरिक समाजका संस्था तथा प्रतिनिधिको क्षमता अभिवृद्धि गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
गैरसरकारी संस्था महासंघ नेपाल, कोशी प्रदेशले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेशमा नागरिक समाजको स्थानको वर्तमान अवस्था, चुनौती एवं अवसर’ विषयक छलफल कार्यक्रममा सहभागीले नागरिक समाजका लागि अनुकूल वातावरण निर्माणसँगै राज्य र नागरिक समाजबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।
कार्यक्रममा कोशी प्रदेशमा नागरिक समाजका लागि उपलब्ध ‘सिभिक स्पेस’ (नागरिक स्थान) को अवस्था, नागरिक समाज संस्थाले भोगिरहेका चुनौती तथा अवसर, अभिव्यक्ति स्वतन्त्रता र सहभागिताको अवस्था, राज्य तथा नागरिक समाजबीचको सहकार्य र समन्वयलगायतका विषयमा छलफल भएको थियो।
महासंघ कोशी प्रदेशका अध्यक्ष सोमराज ढकालले नागरिक समाजका लागि सहज र अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। उनले नागरिक समाजका सम्बन्धमा सरोकारवालाबाट उठाइएका सवाल तथा सुझावलाई सम्बोधन गर्न महासंघले पहल गर्ने बताए।
कार्यक्रममा उच्च अदालत बार विराटनगरका सदस्य कला त्रिताल, राष्ट्रिय मानव अधिकार आयोगका डिल्लीराम लंसाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, मानव अधिकार सञ्जालका संयोजक वासु अधिकारी, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय परियोजना संयोजक योगेश काफ्ले तथा एबीसी नेपालका प्रमुख विष्णु शर्मा लगायतले कोशी प्रदेशमा नागरिक समाजको वर्तमान अवस्थाबारे धारणा राखेका थिए।
कार्यक्रमको विषयवस्तु प्रस्तुति महासंघ कोशी प्रदेशका कोषाध्यक्ष विनोद विश्वकर्माले गरेका थिए भने महासंघ नेपालका केन्द्रीय परियोजना संयोजक योगेश काफ्लेले सहजीकरण गरेका थिए।
छलफलका क्रममा नागरिक समाजका लागि उपलब्ध स्थानलाई थप विस्तार गर्ने, संस्थाले भोगिरहेका चुनौती सम्बोधन गर्ने, अभिव्यक्ति तथा सहभागिताको अधिकारलाई प्रभावकारी बनाउने र राज्य तथा नागरिक समाजबीच सहकार्य तथा समन्वय सुदृढ गर्ने विषयमा सहभागीबीच विचार तथा अनुभव आदानप्रदान भएको थियो।
अन्तरक्रिया, समूहगत छलफल, प्रस्तुति तथा सुझाव संकलनमार्फत सञ्चालन गरिएको कार्यक्रममा विषय विज्ञ तथा सहभागीबाट प्राप्त व्यक्तिगत र समूहगत निष्कर्षले नागरिक समाजको क्षमता अभिवृद्धि तथा आगामी कार्ययोजना निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने महासंघका अध्यक्ष ढकालले बताए।





