बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाको सम्झौता अवधि सकिन अब १४ महिना मात्रै बाँकी रहँदा ७२ प्रतिशत काम सम्पन्न गर्नुपर्ने चुनौती देखिएको छ ।
हालसम्म आयोजनाको भौतिक प्रगति २८ प्रतिशत मात्रै रहेको छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०८१ कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।
सम्झौताअनुसार २०८४ कात्तिकसम्म निर्माण सक्नुपर्ने भए पनि सम्झौताको करिब ६० प्रतिशत समय बितिसक्दा आयोजनाको प्रगति अपेक्षाकृत न्यून छ । बाँकी अवधिमा कामको गति उल्लेख्य रूपमा बढाउनुपर्ने देखिएको छ ।
आयोजनाका सूचना अधिकारी इन्जिनियर अशोक पौडेलले पछिल्लो समय निर्माणको गति बढाइएको बताए । निर्माण सामग्रीको उपलब्धतामा आएको समस्याका कारण विगतमा काम प्रभावित भए पनि अहिले दैनिक पाँच सयसम्म मजदुर परिचालन गरेर काम भइरहेको उहाँले जानकारी दिए ।
“कहिले बिटुमिन, कहिले नदीजन्य पदार्थ र कहिले माटोको अभाव हुँदा काम प्रभावित भयो,” उनले भने, “अहिले कामको गति बढाइएको छ । बाँकी अवधिमा थप जनशक्ति र उपकरण परिचालन गरेर काम अघि बढाउनुपर्ने अवस्था छ ।” ५० किलोमिटर सडकलाई रूपन्देही र कपिलवस्तुतर्फ २५–२५ किलोमिटरमा विभाजन गरी निर्माण भइरहेको छ ।
चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख रुपियाँमा ठेक्का लिएर निर्माण गरिरहेका छन् ।
आयोजनाअन्तर्गत सडक विस्तारसँगै पुल, कल्भर्ट, सवारीसाधन अन्डरपास, नाली, जनावर आवतजावतका लागि संरचना तथा रिटेनिङ वाल निर्माण भइरहेको छ । कपिलवस्तुतर्फ निर्माण गर्नुपर्ने १० पुलमध्ये नौ वटा निर्माणाधीन छन् । रूपन्देहीतर्फ निर्माण गर्नुपर्ने ६७ कल्भर्टमध्ये ५६ वटाको काम भइरहेको आयोजनाले जनाएको छ ।
त्यस्तै निर्माण गर्नुपर्ने १८ वटा जनावर आवतजावत संरचनामध्ये १६ वटा सम्पन्न भइसकेका छन् । रूपन्देहीका जीतगढी–बेलबास, नयाँगाउँ, तामनगर, सैनामैनाको मुर्गिया र बुद्धनगर तथा कपिलवस्तुको चार नम्बर जीतपुरमा सवारीसाधन अन्डरपास निर्माण भइरहेको छ ।
आयोजनाका अनुसार रूपन्देही खण्डको भौतिक प्रगति २८ प्रतिशत र वित्तीय प्रगति करिब २३ प्रतिशत पुगेको छ ।नर्माण सुरु हुँदा करिब नौ सय मजदुर परिचालन गरिए पनि निर्माण सामग्रीको अभाव र लागत वृद्धिका कारण केही समय मजदुरको संख्या घटेर डेढ सयदेखि दुई सयसम्म पुगेको थियो । अहिले भने मजदुरको संख्या बढाएर दैनिक चार सय ५० देखि पाँच सयसम्म पु¥याइएको छ ।
आयोजनाअन्तर्गत बुटवल–गोरुसिङ्गे खण्डको ५० किलोमिटर सडक विस्तारपछि बाँकी १९ किलोमिटर गोरुसिङ्गे–चन्द्रौटा खण्डको विस्तार प्रक्रिया अघि बढाउने तयारीसमेत गरिएको छ । तर निर्माणाधीन खण्डकै काम निर्धारित अवधिमा सम्पन्न गर्न चुनौती देखिएको अवस्थामा बाँकी खण्डको विस्तारका लागि थप तयारी र स्रोत व्यवस्थापन आवश्यक देखिएको छ ।
आयोजनाले बाँकी अवधिमा निर्माणको गति बढाएर काम सम्पन्न गर्ने जनाएको छ ।
त्यसका लागि निर्माण सामग्रीको नियमित आपूर्ति, पर्याप्त जनशक्ति तथा उपकरण परिचालन र निर्माणस्थलमा देखिएका अवरोध समयमै समाधान गर्नुपर्ने देखिएको छ ।





