काठमाडौं। नेपालीको मौलिक तथा रैथाने खाद्य परिकार गुन्द्रुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै विश्वबजारमा पहिचान स्थापित गर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ। होटल संघ नेपालले आरोग्य वर्ष २०२७ लाई लक्षित गर्दै बिहीबार काठमाडौंमा आयोजना गरेको ‘गुन्द्रुक राष्ट्रिय कार्यशाला’मा गुन्द्रुकको उत्पादनदेखि बजारीकरण र होटलका मेनुसम्म समेटेर छलफल गरिएको हो।
नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानको सहकार्य तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्राविधिक सहयोगमा आयोजित कार्यशालामा गुन्द्रुकको उत्पादन, गुणस्तर, पोषण, खाद्य सुरक्षा, भण्डारण, व्यावसायिक उपयोग तथा अन्तर्राष्ट्रिय बजारीकरणका विषयमा विज्ञहरूले धारणा राखेका थिए।
कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले गुन्द्रुक नेपाली मौलिक तथा रैथाने खाद्य परिकार भए पनि यसको व्यवस्थित प्रवद्र्धन र व्यावसायिक उपयोगका लागि थप पहल आवश्यक रहेको बताए। उनले गुन्द्रुकको पहिचान र बजारीकरणसँगै गुणस्तर, खाद्य सुरक्षा, भण्डारण तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
शाहले गुन्द्रुकलाई राष्ट्रियस्तरमै विशेष पहिचान दिलाउन ‘गुन्द्रुक दिवस’ मनाउने अवधारणामाथि समेत छलफल गर्नुपर्ने बताए। उनका अनुसार नेपाली मौलिक खानालाई पर्यटनसँग जोड्न सके यसले नेपालको खानाको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सहयोग पुग्ने छ।
कार्यशालामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ अनुसन्धान अधिकृत भीम पुलामीले गुन्द्रुकको उत्पादन, गुणस्तर, पोषण तथा खाद्य सुरक्षालगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गरे। कार्यपत्रमाथि लेखक तथा खाद्य विश्लेषक शारदा ज्ञवाली, वरिष्ठ सेफ गोविन्द नरसिंह केसी तथा कन्सल्टिङ सेफ श्यामबहादुर तामाङले टिप्पणी गरेका थिए।
कार्यपत्र प्रस्तुति र टिप्पणीपछि भएको छलफलमा गुन्द्रुकको उत्पादन तथा प्रशोधनलाई व्यवस्थित बनाउने, गुणस्तर कायम गर्ने, संरक्षण तथा भण्डारणमा सुधार ल्याउने र व्यावसायिक रूपमा प्रयोग बढाउने विषयमा सहभागीहरूले सुझाव दिएका थिए। साथै होटल तथा पर्यटन क्षेत्रमा गुन्द्रुकको प्रयोग र प्रवर्द्धन कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा होटल क्षेत्रको प्रतिनिधित्व गर्दै रोयल तुलिप काठमाडौंका केदार पाण्डेले गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला महत्वपूर्ण रहेको बताए। उनले होटलहरूले आफ्ना परिकार तथा मेनुमा गुन्द्रुकलाई समावेश गर्दै यसको प्रवर्द्धनमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे। नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्राचार्य दिव्यराज पोखरेलले गुन्द्रुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न शैक्षिक तथा व्यावसायिक पाठ्यक्रममा समेत समेट्न सकिने धारणा राखे। उनले नयाँ पुस्तालाई नेपाली मौलिक खानाबारे जानकारी गराउँदै व्यावसायिक जनशक्ति उत्पादनमा समेत यस्ता विषय उपयोगी हुने बताए।
कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले होटलका मेनुमा नेपाली रैथाने तथा मौलिक खानाका परिकार समावेश गर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। उनले गुन्द्रुकलाई समेत होटल तथा पर्यटन क्षेत्रका मेनुमा समावेश गर्न प्रोत्साहित गर्दै नेपाली मौलिक खानाको प्रवर्द्धनमार्फत नेपालको पर्यटन अनुभवलाई थप समृद्ध बनाउन सकिने बताए।
कार्यक्रममा टिभेट काउन्सिल सदस्य तथा साना तथा घरेलु उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल, रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपालका अध्यक्ष संघर्ष बिष्ट तथा पाटा नेपाल च्याप्टरका अध्यक्ष नरेन्द्र भट्टले गुन्द्रुकलगायत नेपाली मौलिक खानाको महत्व र यसको प्रवर्द्धनका सम्भावनाबारे धारणा राखेका थिए।
कार्यशालाको समापन गर्दै होटल संघ नेपालका महासचिव साजन शाक्यले कार्यक्रममा उठेका महत्वपूर्ण विषय तथा सुझावलाई लिपिबद्ध गरी आगामी दिनमा कार्यान्वयनको दिशामा अघि बढाइने बताए। उनले गुन्द्रुकको उत्पादन, गुणस्तर, व्यावसायिक प्रयोग तथा पर्यटन र आतिथ्य क्षेत्रमा प्रवर्द्धनका लागि सम्बन्धित सरोकारवालासँग निरन्तर छलफल र सहकार्य गरिने जानकारी दिए।
होटल संघ नेपालले आरोग्य वर्ष २०२७ लाई लक्षित गर्दै नेपाली रैथाने तथा मौलिक खाद्य परिकारको प्रवर्द्धन, स्वस्थ खानपानको संस्कृति विकास तथा नेपाली खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।





