काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुविन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार श्रेष्ठले पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा श्रेष्ठको नियुक्ति भएको २०५३ साल असार २७ गतेदेखि २०८१ चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी उनी र उनको एकाघर परिवारका सदस्यको आय तथा व्ययको विस्तृत गणना तथा विश्लेषण गरिएको आयोगले जनाएको छ।
अनुसन्धानबाट उक्त अवधिमा श्रेष्ठ तथा उनका एकाघर परिवारका सदस्यहरूले सार्वजनिक सेवाबाट प्राप्त पारिश्रमिक तथा तलब बचत, भत्ताबाट प्राप्त बचत, जग्गा बिक्री, छोरीको पारिश्रमिक, ऋण सापटी लिएको तथा फिर्ता पाएको रकम, घर तथा जग्गा बहाल, सवारीसाधन बिक्री, बिमा परिपक्व हुँदा प्राप्त रकम, विभिन्न प्रयोजनका लागि व्यक्तिहरूबाट बैंक खातामा प्राप्त रकम तथा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दातमा करकट्टीपछि प्राप्त ब्याजलगायतका स्रोतबाट कुल ७ करोड ७५ लाख ७८ हजार ८४० रुपैयाँ ८७ पैसा वैधानिक आय आर्जन गरेको देखिएको छ।
तर, सोही अवधिमा आफ्नो तथा परिवारका सदस्यको नाममा रहेका बैंक खाताको मौज्दातसमेत गरी कुल १२ करोड ५० लाख २५ हजार ६५४ रुपैयाँ ३६ पैसा खर्च तथा लगानी गरेको अनुसन्धानबाट देखिएको आयोगको भनाइ छ।
आयोगका अनुसार कुल वैधानिक आयबाट सोही अवधिको कुल व्यय घटाउँदा ४ करोड ७४ लाख ४६ हजार ८१३ रुपैयाँ ४९ पैसा बराबरको रकमको स्रोत पुष्टि हुन नसकेपछि श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए।





