- भोजराज घिमिरे

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय सभापति पदका उम्मेदवार चुमनारायण तवदारले आफू कुनै गुटको सभापति नभई सबैको साझा सभापति बन्ने प्रतिबद्धता जनाएका छन्।
क्षेत्रीय सभापति पदमा उम्मेदवारी घोषणा गर्दै तवदारले आफ्नो उम्मेदवारी पद वा प्रतिष्ठाका लागि मात्र नभई पार्टी संगठनलाई बलियो बनाउने, आन्तरिक एकता सुदृढ गर्ने र कांग्रेसलाई जनतासँग अझ नजिक जोड्ने उद्देश्यले भएको बताएका हुन्।
उनले पार्टीभित्र कसैलाई पाखा नलगाई सबैलाई समेटेर अघि बढ्ने आफ्नो स्पष्ट धारणा रहेको बताए। अग्रजहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर संगठनलाई थप गतिशील बनाउने तथा युवाहरूलाई पार्टीको नीति, विचार र संगठनसँग जोड्दै नेतृत्व विकासका अवसर सिर्जना गर्ने उनको प्रतिबद्धता छ।
तवदारले निर्वाचनका बेला मात्र जनतामाझ पुग्ने नभई वर्षभरि नै जनताको सुख–दुःखमा कांग्रेसको उपस्थिति देखिनुपर्ने बताएका छन्। विकास, सुशासन तथा जनसरोकारका विषयमा निरन्तर जनतासँग जोडिएर क्षेत्र नं. ६ मा कांग्रेसलाई जनताको भरोसाको संगठनका रूपमा स्थापित गर्ने उनले बताएका छन्।
उनले पार्टीभित्रको निर्णय प्रक्रिया पारदर्शी र न्यायोचित हुनुपर्नेमा पनि जोड दिएका छन्। क्रियाशील सदस्यता, जिम्मेवारी बाँडफाँटदेखि उम्मेदवार सिफारिससम्म योगदान, योग्यता र संगठनप्रतिको निष्ठालाई आधार बनाउने वातावरण आवश्यक रहेको उनको भनाइ छ।
आफ्नै जग्गामा कांग्रेसको क्षेत्रीय कार्यालय बनाउने प्रतिबद्धता
तवदारले आफ्नो उम्मेदवारीसँगै क्षेत्रीय पार्टी कार्यालय निर्माणको विषयलाई समेत प्राथमिकतामा राखेका छन्।
उनका अनुसार नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय सञ्चालनका लागि उनले यसअघि नै आफ्नो जग्गा पार्टीका लागि निःशुल्क उपलब्ध गराइसकेका छन्। विभिन्न कारणले हालसम्म उक्त स्थानमा भवन निर्माण हुन नसकेको भन्दै उनले आफू क्षेत्रीय सभापतिमा निर्वाचित भए व्यवस्थित क्षेत्रीय पार्टी कार्यालय भवन निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले क्षेत्रीय संगठनलाई आफ्नै व्यवस्थित कार्यालयबाट सञ्चालन गर्ने वातावरण निर्माण गर्नु आफ्नो प्रमुख काममध्ये एक हुने बताएका छन्।
तवदारले मोरङ क्षेत्र नं. ६ मा ‘विभाजन होइन, एकता; गुट होइन, संगठन; व्यक्तिगत स्वार्थ होइन, पार्टी र जनताको हित’ लाई प्राथमिकता दिने कांग्रेस निर्माण गर्ने बताएका छन्।
उनले अग्रज, नेता, कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुक सबैलाई साथ, सुझाव र सल्लाहका लागि आग्रह गर्दै आफू सबैलाई समेट्ने, संगठनलाई बलियो बनाउने र जनताको पक्षमा उभिने कांग्रेस निर्माणका लागि उम्मेदवार बनेको स्पष्ट पारेका छन्।
‘जय नेपाल’ भन्दै जारी गरिएको विज्ञप्तिमा तवदारले आफ्नो राजनीतिक यात्रामा नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको साथ र आशीर्वादलाई ऊर्जाका रूपमा लिने उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया