विराटनगर । विराटनगर–३ कञ्चनबारी स्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो । हस्पिटलका निर्देशक दिनेश ठाकुरले मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाललाई कम्प्युटर हस्तान्तरण गरे ।
कम्प्युटर हस्तान्तरण गर्दै निर्देशक ठाकुरले जनताको सुरक्षामा खटिने प्रहरीलाई आवश्यक स्रोतसाधनमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्प्युटर प्रदान गरिएको बताए ।
‘प्रहरीले नागरिकको सुरक्षाका लागि निरन्तर काम गरिरहेको छ । प्रहरीको कामलाई सहज बनाउन सकिने क्षेत्रमा सहयोग गर्नु हाम्रो सामाजिक उत्तरदायित्व पनि हो,’ ठाकुरले भने, ‘आगामी दिनमा पनि आवश्यकता र सम्भावनाअनुसार सहयोगलाई निरन्तरता दिनेछौं ।’
हस्पिटलबाट प्राप्त कम्प्युटरले प्रहरी कार्यालयको दैनिक प्रशासनिक तथा अभिलेख व्यवस्थापनसम्बन्धी काममा सहयोग पुग्ने एसपी कटवालले बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत हस्पिटलले गरेको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै प्रहरीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्ता सहयोग उपयोगी हुने बताए ।

 

तपाईको प्रतिक्रिया