काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टोल–टोलमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा व्यायामका कार्यक्रम सञ्चालन गरी काठमाडौँलाई ‘आरोग्य सहर’ बनाउने अभियान अघि बढाउने भएको छ ।
यसका लागि महानगरपालिका र जीवन विज्ञान प्रतिष्ठानबीच सहकार्य गर्ने समझदारी भएको छ । समझदारीअनुसार शारीरिक, मानसिक, ऊर्जागत, भावनात्मक र बौद्धिक आरोग्यलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिनेछ ।
महानगरभित्र स्थानीयको माग र वडाको सिफारिसका आधारमा विभिन्न टोल तथा बस्तीमा आरोग्य केन्द्र सञ्चालन गरिनेछ । आवश्यक स्थान र भौतिक पूर्वाधार महानगरपालिकाले उपलब्ध गराउने तथा प्रशिक्षक र प्राविधिक व्यवस्थापन प्रतिष्ठानले गर्नेछ ।
विद्यालयमा पनि विद्यार्थीलाई स्वस्थ जीवनशैली, योग, ध्यान तथा जीवनोपयोगी अभ्याससँग जोड्ने कार्यक्रम सञ्चालन गरिनेछ । अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि लक्षित कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी छ ।
महानगरपालिकाका अनुसार कार्यक्रममा स्वस्थ जीवनशैली, व्यायाम, पोषण, सरसफाइ, तनाव व्यवस्थापन, मानसिक शान्ति, सकारात्मक सोच, प्राणायाम, भावनात्मक सन्तुलन, सिर्जनशीलता, निर्णय क्षमता तथा नेतृत्व विकाससम्बन्धी अभ्यास गराइनेछ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यो कार्यक्रम कुनै संस्था विशेषको नभई प्रत्येक महानगरवासीको अभियान भएको बताएकी छन् । उनले नागरिकलाई आफ्नो, परिवारको र टोलको आरोग्यताका लागि सक्रिय रूपमा सहभागी हुन आग्रह गरेकी छन् ।
कार्यक्रमलाई व्यवस्थित र निरन्तर सञ्चालन गर्न महानगरपालिका र प्रतिष्ठानका तीन–तीन जना प्रतिनिधि रहने गरी ‘आरोग्य कार्यदल’ गठन गरिनेछ । कार्यदलले कार्ययोजना बनाउने तथा प्रत्येक महिना बैठक बसेर कार्यक्रमको समीक्षा गर्नेछ ।
महानगरपालिकाले कार्यक्रमबाट नागरिकको स्वास्थ्य र जीवनशैलीमा परेको प्रभावको तुलनात्मक अध्ययन गरी उपलब्धि अभिलेख राख्ने जनाएको छ ।





