सुर्खेत। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी–९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आइतबार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन। चार जना गम्भीर घाइते छन् भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

सानीभेरी–६ का वडाध्यक्ष पहलसिंह घर्तीका अनुसार मृतकमध्ये एक जना जिप चालक र अर्की एक महिला छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। जिपमा ११ जना सवार रहेको र जिपका साहु बलबहादुर पुनसहित नौ जना घाइते भएको उनले बताए।

घटनास्थलमा स्थानीय प्रहरीको टोली पुगेको छ भने जिल्ला प्रहरी प्रमुख पौडेलको नेतृत्वमा थप टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया