रौतहट, २७ भदौ ।
रौतहटको सदरमुकाम गौर भन्सार कार्यालय हुँदै नेपाल प्रवेश गर्ने जो–कोहीलाई अहिले एउटा अनौठो ‘स्वागत’ले सामना गर्नुपर्छ फोहोरको थुप्रो र दुर्गन्ध।
गौर प्रवेश गर्ने महत्वपूर्ण नाकाका रूपमा रहेको भन्सार कार्यालय अगाडिको सडक छेउ तथा खाली क्षेत्रमा प्लास्टिक, बोतल, कागजलगायतका फोहोर यत्रतत्र छरिएका छन्। फोहोरको थुप्रो बढ्दै जाँदा भन्सारको मुख्य प्रवेश क्षेत्र नै दुर्गन्धित र कुरूप बनेको छ।
सीमावर्ती क्षेत्र भएकाले दैनिक ठूलो संख्यामा स्थानीय, यात्रु तथा आगन्तुकको आवतजावत हुने यो क्षेत्र गौरको ‘पहिलो परिचय’ पनि हो। तर प्रवेशद्वारमै फोहोरको यस्तो दृश्य देखिँदा गौरलाई सफा, सुन्दर र व्यवस्थित शहरका रूपमा चिनाउने प्रयासमाथि नै प्रश्न उठेको छ।
भन्सारको गेटमा फोहोर, जिम्मेवार निकाय कहाँ ?
फोहोर फाल्ने नागरिकको गैरजिम्मेवारी एउटा पाटो हो। तर फोहोर उठाउने, व्यवस्थापन गर्ने र सार्वजनिक स्थललाई सफा राख्ने जिम्मेवारीबाट सम्बन्धित निकाय गौर नगरपालिका पन्छिन मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ।
फोहोर कसले फालिरहेको छ ? नियमित रूपमा फोहोर किन उठ्दैन ? फोहोर व्यवस्थापनका लागि जिम्मेवार निकायले अनुगमन गरिरहेको छ कि छैन ? यस्ता प्रश्नको जवाफ सम्बन्धित पक्षले दिनुपर्ने अवस्था देखिएको छ।
एकपटक सरसफाइ अभियान चलाएर फोटो खिच्नु मात्र पर्याप्त हुँदैन। फोहोर संकलनको नियमित व्यवस्था, पर्याप्त डस्टबिन, अनुगमन तथा जथाभावी फोहोर फाल्नेलाई निरुत्साहित गर्ने प्रभावकारी अभियान आवश्यक छ।
‘सफा गौर’को नाराभन्दा व्यवहारमा देखिनुपर्छ
शहर सफा राख्ने विषय भाषण र नारामा सीमित नभई व्यवहारमै देखिनुपर्ने स्थानीयको भनाइ छ। गौरको प्रवेशद्वारमै फोहोरको थुप्रो देखिँदा त्यसले शहरको सौन्दर्यसँगै सार्वजनिक स्वास्थ्य र पर्यटकीय छविमा समेत असर पार्न सक्छ।
“पर्यटकलाई स्वागत गर्ने प्रवेशद्वारमै फोहोरको थुप्रो देखिनु गौरको पहिचानका लागि दुःखद विषय हो। सम्बन्धित निकायले अब तत्काल सरसफाइसँगै दीर्घकालीन फोहोर व्यवस्थापनको योजना बनाउनुपर्छ,” एक स्थानीयले भने।
गौरको मुख्य प्रवेश क्षेत्रमै देखिएको यो दृश्यले एउटा सामान्य प्रश्न भने अवश्य उठाएको छ-‘गौरलाई सफा र सुन्दर शहर बनाउने जिम्मेवारी कसको हो ?’
सम्बन्धित निकायले समयमै ध्यान नदिए भन्सार क्षेत्रको फोहोर केवल दुर्गन्धको समस्या मात्र रहने छैन, यो गौरको पहिचान र व्यवस्थापन क्षमतामाथि उठ्ने प्रश्नसमेत बन्न सक्छ।





