काठमाडौँ, भदौ २७ गते । रसुवामा भदौ १० गते आएको भोटेकोशी हिमबाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६०२ जनाको उद्धार गरिएको छ । पाँच हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३८६ पुगेको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतले रसुवा, नुवाकोटलगायत प्रभावित जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेको र सम्पर्कविहीनमध्ये रसुवाबाट मात्रै दुई हजारभन्दा बढी रहेको बताउनुभयो ।
महतले भन्नुभयो, “बाढीबाट प्रभावित विभिन्न स्थानमा फेला परेका शवमध्ये हालसम्म १०४ को सनाखत गरी परिवारलाई बुझाइएको छ । शवको पहिचानका लागि एक हजार ३८६ मृतक र एक हजार ७५१ आफन्तको डिएनए नमुना सङ्कलन गरिएको छ । उहाँका अनुसार नेपाली सेनाले हालसम्म एक हजार ४५५ पटक तथा सशस्त्र प्रहरी बलले ३२० पटक हेलिकोप्टर उडान गरी प्रभावित क्षेत्रबाट उद्धार तथा राहत कार्य सञ्चालन गरेका छन् ।
उद्धार गरिएकामध्ये घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ र हालसम्म १९ वटा अस्पतालमा ३३३ जनाको उपचार भइरहेको र २६६ जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणले जनाएको छ । विभिन्न सुरक्षा निकायबाट पनि छ हजार ५२५ जनाले उपचार सेवा लिएका छन् ।
नेपाल प्रहरीले सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजारभन्दा बढी नागरिकलाई परामर्श दिएको प्राधिकरणले जनाएको छ । बाढीपछि सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक सूचनामाथि पनि निगरानी बढाइएको छ । यसैबिच रसुवाका रसुवागढी, लाङटाङ, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ र चिलिमे जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित संरचनामा खोजी, उद्धार र पहुँच मार्ग निर्माणको काम जारी रहेको प्राधिकरणले जनाएको छ ।
बाढीबाट प्रभावित क्षेत्रमा राहत सामग्री सडक तथा हवाई माध्यमबाट निरन्तर पठाइएको छ । प्रारम्भिक आकलन अनुसार रसुवा बाढीबाट कुल विपत् प्रभाव चार खर्ब आठ अर्ब रुपियाँ बराबर रहेको र पुनर्लाभका लागि करिब सात खर्ब २३ अर्ब रुपियाँ आवश्यक पर्ने प्रारम्भिक आकलन गरिएको छ । तत्काल शीघ्र पुनर्लाभका लागि मात्रै आठ अर्ब ७३ करोड रुपियाँ आवश्यक पर्ने प्राधिकरणको प्रारम्भिक आकलन छ ।
पहुँचमार्ग निर्माण
यसैबिच रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्वपूर्ण सफलता हासिल भएको छ । साढे तीन दिनको प्रयासपछि एक हजार ५० मिटर लामो ट्र्याक खुला गरिएको छ । यसअघि हेलिकोप्टरबाट मात्र पुग्न सकिने उक्त दुर्गम क्षेत्रमा स्याफ्रुबेँसीतर्फबाट सडक निर्माण सुरु गर्दा पहिले एक्साभेटर प्रयोग गरी ५५० मिटर बाटो तयार पारिएको थियो । तत्पश्चात् बाँकी रहेको कडा पहरा चिर्न नेपाली सेनाले नौ पटक नियन्त्रित ब्लास्टिङ गरी थप पाँच सय मिटर ट्र्याक निर्माण सम्पन्न गरेको हो । अब सुरुङको मुखसम्मै ठुला तथा भारी उपकरण र आवश्यक सामग्री पुर्याउन सम्भव भएको छ । भारी उपकरणहरू कार्यस्थलमा पुर्याइसकेकाले भोलि वा पर्सिसम्ममा सुरुङ छिचोलिने अपेक्षा गरिएको छ ।
-गोरखापत्र अनलाइन





