काठमाडौं। नेपाल वैदेशिक व्यवसायी संघले मलेसियामा नेपाली श्रमिक पठाउने २५ वटा म्यानपावर कम्पनीका सञ्चालकहरूको तस्बिर सार्वजनिक गर्दै अमर्यादित तथा आपत्तिजनक भाषा प्रयोग गरेको छ।

मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस)मार्फत नेपाली श्रमिक पठाउने क्रममा ‘सिन्डिकेट’ खडा गरी श्रमिकबाट चर्को रकम असुलिएको आरोप लगाउँदै संघले सामाजिक सञ्जालमार्फत सम्बन्धित व्यवसायीहरूको तस्बिरसहित कडा टिप्पणी गरेको हो।

संघले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा व्यवसायीहरूलाई लक्षित गर्दै ‘सिन्डिकेटधारीहरूको मुखमा किरा परोस्, सास जाने बेलामा सहयोगी नपाई मरून्’ जस्ता शब्द प्रयोग गरेको देखिन्छ।

म्यानपावर व्यवसायीहरूको छाता संगठनका रूपमा रहेको संघले आफ्नै सदस्य व्यवसायीहरूको तस्बिर सार्वजनिक गर्दै यस प्रकारका शब्द प्रयोग गर्नु आफैंमा गम्भीर र असामान्य विषय बनेको छ। संघको अभिव्यक्तिप्रति केही व्यवसायीहरूले समेत आपत्ति जनाउँदै संस्थागत विवादलाई मर्यादित ढंगले समाधान गर्नुपर्ने बताएका छन्।

मलेसिया रोजगारीका लागि प्रयोग हुँदै आएको एफडब्ल्युसिएमएस प्रणालीसँग जोडिएका नेपाली म्यानपावर कम्पनीहरूको संरचना, श्रमिकबाट लिइने सेवा शुल्क तथा व्यवसायीबीचको प्रतिस्पर्धालाई लिएर पछिल्लो समय विवाद चर्किएको हो।

यस विषयमा सरकारले समेत मलेसिया श्रमिक पठाउने म्यानपावर कम्पनीहरूबीच कथित सिन्डिकेट तथा शुल्क असुलीसम्बन्धी विषयमा छानबिन तथा कारबाही प्रक्रिया अघि बढाइरहेको अवस्थामा संघको पछिल्लो अभिव्यक्ति सार्वजनिक भएको हो।

व्यवसायीहरूको संगठनले विवादित विषयमा धारणा राख्न पाउने भए पनि सम्बन्धित व्यवसायीको तस्बिर सार्वजनिक गरी व्यक्तिगत रूपमा अपमानजनक तथा श्रापपूर्ण भाषा प्रयोग गर्नु संस्थागत मर्यादा र व्यावसायिक आचरणमाथि नै प्रश्न उठाउने विषय बनेको व्यवसायीहरूको भनाइ छ।

मलेसिया रोजगारीसम्बन्धी विवादमा वास्तविकता के हो, एफडब्ल्युसिएमएसमा म्यानपावर कम्पनीहरूको संलग्नता कसरी निर्धारण गरिएको छ र श्रमिकबाट तोकिएभन्दा बढी रकम असुलिएको हो वा होइन भन्ने विषयमा सरकारी छानबिनको निष्कर्ष महत्वपूर्ण हुने देखिन्छ।

त्यसअघि नै व्यवसायीको तस्बिर सार्वजनिक गरी दोषी ठहर गर्ने शैलीमा अभिव्यक्ति दिनुले विवाद समाधानभन्दा पनि म्यानपावर व्यवसायीबीचको तनाव थप बढाउने जोखिम छ।

तपाईको प्रतिक्रिया