काठमाडौं। भदौ १० मा रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीपछि विभिन्न विद्युत् आयोजनामा अर्बौंको लगानी खेर गएको छ। बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन, निर्माण चरणमा रहेका र निर्माण सम्पन्न आयोजनामा ठूलो क्षति पुगको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले त्रिशूली जलविद्युत् कम्पनी र मल्टी इनर्जी डेभलपमेन्टको ऋण रेटिङलाई शंकास्पद निगरानी (वाच लिस्ट)मा राखेको छ। बाढीले जलविद्युत् आयोजनाको भौतिक संरचनामा क्षति पुर्याएपछि दुई जलविद्युत् कम्पनीको ऋणको रेटिङ निगरानीमा परेको हो।

रेटिङ एजेन्सी इक्रा नेपालले त्रिशूली जलविद्युत् कम्पनी र मल्टी इनर्जी डेभलपमेन्टको ऋण रेटिङलाई शंकास्पद निगरानी (वाच लिस्ट)मा राखेको छ। इक्रा नेपालका अनुसार त्रिशूली जलविद्युत् कम्पनीको दीर्घकालीन ऋण सीमा ८ अर्ब ७ करोड ८० लाख रुपैयाँ र अल्पकालीन ऋण सीमा १२ करोड ३० लाख रुपैयाँ गरी कुल ८ अर्ब २० करोड १० लाख रुपैयाँको ऋण रेटिङ निगरानीमा राखिएको हो।

रेटिङ कम्पनीले सार्वजनिक गरेको रिपोर्टअनुसार क्षतिग्रस्त पूर्वाधारको मर्मतमा लाग्ने समय र त्यसको लागत बीमा दाबीबाट कति र कहिले असुल हुन्छ भन्ने विषय कम्पनीको रेटिङका लागि महत्त्वपूर्ण हुनेछ। आयोजना पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन लाग्ने समय, ऋण दायित्व पूरा गर्न प्रवद्र्धकबाट हुने सहयोग तथा बिमा रकमको पर्याप्तता र समयमै प्राप्ति पनि रेटिङका प्रमुख संवेदनशील पक्ष हुनेछन्।

भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले कम्पनीको ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना, त्रिशूली–३ बी हब २२० केभी सबस्टेसन तथा माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा समेत ठूलो असर पारेको इक्राले उल्लेख गरेको छ। क्षतिको पूर्ण मूल्यांकन हुन बाँकी रहेकाले कम्पनीको क्रेडिट प्रोफाइललाई निगरानीमा राखिएको हो।

तपाईको प्रतिक्रिया