गोरखा । चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङ खोलामा बाढी आएर पुलहरू बगाएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ ।
भदौ २१ गते बिहान करिब ३ः३० बजे आएको बाढीले चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको प्रशासनले जनाएको छ ।
प्रशासनले अर्को सूचना जारी नभएसम्म मनास्लु तथा लार्केपास पदमार्गमा यात्राको तयारीमा रहेका वा यात्रामा रहेका पदयात्रीलाई पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ ।
विपद्जन्य घटना वा असामान्य अवस्था सिर्जना भएमा तत्काल नजिकको सुरक्षा निकाय, प्रहरी चौकी वा स्थानीय तहलाई जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।





