विराटनगर । नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रअन्तर्गत विद्युत् ग्राहकको संख्या ९० हजार ४ सय ७५ पुगेको छ। आर्थिक वर्ष २०८२र८३ मा घरेलु ग्राहकतर्फ ८४ हजार ३ सय ९६, औद्योगिकतर्फ १ हजार ७ सय ९ र अन्यतर्फ ४ हजार ३ सय ७० ग्राहक रहेका छन्।

विराटनगर वितरण केन्द्रले विद्युत् चुहावटसमेत घटाएको जनाएको छ। आर्थिक वर्ष २०८१र८२ मा १०।०४ प्रतिशत रहेको विद्युत् चुहावट आर्थिक वर्ष २०८२र८३ मा ८।७९ प्रतिशतमा झरेको छ। यसरी एक वर्षमा विद्युत् चुहावट १।२५ प्रतिशतले घटेको छ।

त्यस्तै, आर्थिक वर्ष २०८२र८३ मा विद्युत् महसुल संकलन प्रतिशत ९८।२५ प्रतिशत रहेको छ। सडक बत्तीबाहेकको कलेक्सन प्रतिशत भने ९९।२३ प्रतिशत रहेको केन्द्रले जनाएको छ।

आर्थिक वर्ष २०८२र८३ मा विराटनगर वितरण केन्द्रबाट ४ अर्ब २५ करोड १० लाख ५८ हजार ४ सय २५ रुपैयाँ बराबरको विद्युत् बिक्री भएको छ। आर्थिक वर्ष २०८१र८२ मा ४ अर्ब ११ करोड ७ लाख २८ हजार ७५ रुपैयाँ बराबरको विद्युत् बिक्री गरिएको थियो।

यसैगरी, बाँकी बक्यौता रहेका १ हजार १६६ ग्राहकको विद्युत् लाइन काटिएको छ। लाइन काटिएपछि ७ करोड ५ लाख २१ हजार ६ सय २४ रुपैयाँ बराबरको रकम उठेको छ।

बक्यौता रकम भुक्तानी गरेपछि १ हजार ३ सय २७ ग्राहकको विद्युत् लाइन पुनः जडान गरिएको छ। पुनः जडानबापत ५ करोड ३६ लाख २१ हजार ३ सय १७ रुपैयाँ असुल भएको नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उद्धार साहले जानकारी दिए।

उनका अनुसार बाँकी बक्यौता रहेका ग्राहकको विद्युत् लाइन काट्ने कार्य सुरु भएको छ। उनले समयमै विद्युत् महसुल बुझाउन सेवाग्राहीलाई अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया