अजय शाह
गौशाला (महोत्तरी), भदौ १८ गते । रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवन जिल्लामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले ३१ लाखभन्दा बढी रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले विपद्बाट प्रभावित व्यक्ति, परिवार तथा समुदायको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकारको प्रयासमा ऐक्यबद्धता जनाउँदै ३१ लाख ३५ हजार १३४ रुपियाँप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ ।
नगरपालिकाका अनुसार उक्त सहयोग रकम विभिन्न स्रोतबाट जुटाइनेछ । नगरपालिकाको वार्षिक बजेटबाट १० लाख, नगरपालिकाका जनप्रतिनिधिबाट सात लाख ११ हजार ५००, नगरपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारीबाट ६ लाख ८ हजार ६४८ तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट पाँच लाख १७ हजार ९४० सहयोग गरिनेछ ।
जनप्रतिनिधिले आफ्नो एक महिनाको सेवा–सुविधाबराबरको रकम सहयोग गर्ने निर्णय गरेका छन् । त्यसैगरी कर्मचारीतर्फ अधिकृतस्तरका कर्मचारीबाट सात दिनको तलब, सहायकस्तरका कर्मचारीबाट पाँच दिनको तलब र श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब योगदान गरिने नगरपालिकाले जनाएको छ ।
सामुदायिक विद्यालयतर्फ माध्यमिक तहका शिक्षकबाट सात दिन, आधारभूत तहका शिक्षकबाट पाँच दिन तथा विद्यालय सहयोगी र कर्मचारीबाट दुई दिनबराबरको तलब सहयोग गरिने जनाइएको छ ।
विश्वव्यापी जलवायु परिवर्तनका कारण भोटेकोशी नदीमा आएको बाढीबाट ठुलो जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
नगरपालिकाले विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै तहका सरकार, राजनीतिक दल, निजी क्षेत्र तथा नागरिक समाजलाई समेत सहयोग र सहकार्य गर्न आग्रह गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको रकम विपद्पीडितको राहत तथा उद्धारमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।






