काठमाडौँ, भदौ १८ गते । भोटेकोशी नदीमा आएको हिमबाढीले नेपाल–चीन सीमानाका रसुवागढी पूर्ण क्षतिग्रस्त छ । बाढीले नाकामा रहेको भन्सार, अध्यागमन र सुरक्षा बलका संरचना पनि बाँकी छैनन् । सडक मार्ग पनि बाढीले बगाएपछि रसुवागढी पहुँचबाहिर छ, मानवीय चहलपहल शून्य छ ।

सबै संरचना र मानवीय गतिविधि नै नरहेको उक्त क्षेत्रमा अहिले राज्यको एक्लो प्रतिनिधि बनेर उभिएको छ ‘नेपाल टेलिकमको टावर’ । त्यही टावर नजिकै रहेको गोठमा दूर सञ्चार सेवा नियमित गर्न खटिरहनुभएको छ कम्पनीका तीन प्राविधिक । आसपासमा मानव बस्ती नै नरहेको उक्त ठाउँमा प्राविधिकको टोलीलाई तीन जना प्रहरीले सुरक्षा दिइरहनुभएको छ ।

बाढीपछि विद्युत् आपूर्ति अवरोध हुँदा उक्त साइट बन्द जस्तै रहेकोमा अहिले डिजल जेनेरेटरबाट सेवा नियमित भइसकेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीले जानकारी दिनुभयो । “नेपाली सेनाको सहयोगमा कम्पनीका प्राविधिकले रसुवागढीको साइट सञ्चालनमा ल्याउनुभएको छ,” उहाँले भन्नुभयो, “सेनाको हेलिकोप्टरमार्फत डिजल र जेनेरेटर पुर्‍याएर त्यहाँको सेवा नियमित गरिरहेका छौँ ।”

बाढीले सर्वाधिक प्रभावितमध्येको रसुवागढी नाका टेलिकमले भदौ १४ गते उक्त टावर सञ्चालनमा ल्याएको हो । टावर सञ्चालनमा आएपछि मोबाइल डिभाइस सक्रिय हुन थालेको प्रबन्ध निर्देशक पहाडीले बताउनुभयो । “टावर नियमित भएपछि नजिकका गाउँमा मात्रै होइन, बाढीले समस्यामा परेकालाई सम्पर्कमा आउन पनि सहज भएको छ,” उहाँले भन्नुभयो ।

रसुवागढी नाकामा मात्र होइन, टेलिकमले बाढीपछि प्रभावित आफ्ना सबै नेटवर्क बुधबार सञ्चालनमा ल्याइसकेको छ । कम्पनीका अनुसार बाढीका कारण रसुवा, नुवाकोट, धादिङका १२० साइटमध्ये ८३ वटा साइटमार्फत सञ्चालित सेवा अवरुद्ध भएको थियो । टिमुरे, चिलिमे खोला र त्रिशूली–३ ‘बी’ सहित तीन वटा साइट भने पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । जसले गर्दा टेलिकमको मोबाइल तथा इन्टरनेट अवरुद्ध बनेको थियो । कम्पनीले एक हप्तामै यी सबै साइटको सेवा पुनस्र्थापना गरिसकेको छ । पूर्ण क्षतिग्रस्त टावरको हकमा नजिकैको अर्को साइटबाट सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

बाढीपछि टेलिकमले विद्युत् आपूर्ति नभएका साइटमा जेनेरेटरमार्फत सेवा उपलब्ध गराइरहेको छ । टावरबिच सम्पर्क स्थापित गराउने फाइबर पनि क्षतिग्रस्त भएकाले टेलिकमले त्यस्ता साइटमा माइक्रोवेभ (ताररहित) प्रविधिमार्फत दूर सञ्चार सेवा नियमित गरिरहेको पहाडीले जानकारी दिनुभयो । माइक्रोवेभमार्फत सेवा सञ्चालन भएका साइटमा डेटा (इन्टरनेट) भने केही कम गतिमा चल्ने समस्या हु्न सक्ने उहाँले बताउनुभयो ।

एनसेलका अधिकांश साइट सञ्चालनमा

निजी क्षेत्रको दूर सञ्चार सेवाप्रदायक एनसेल लिमिटेडले बाढीका कारण अवरुद्ध बनेका आफ्ना अधिकांश साइट सञ्चालनमा ल्याएको जनाएको छ । बाढीका कारण क्षतिग्रस्त तीन वटा टावरबाहेक बाढीले अवरुद्ध ७५ वटा साइट सञ्चालनमा आइसकेको कम्पनीले जानकारी दिएको छ ।

एनसेलका अनुसार बाढीका कारण ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबरमा पूर्ण क्षति पुगेको छ । यसले कम्पनीलाई नौ करोड रुपियाँको आर्थिक हानि भएको जनाएको छ । फाइबरले क्षति पुगेका ठाउँमा माइक्रोवेभ प्रविधिमार्फत सेवालाई नियमित गरिएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार विद्युत् आपूर्ति नियमित भएका ठाउँका बाहेक साइटमा हेलिकोप्टरमार्फत डिजल र जेनेरेटर पुर्‍याएर सेवा सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया