काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दीपा कार्की र बिचौलियाको भूमिकामा रहेकी आस्मा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६४ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।
अख्तियारका अनुसार नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखामा कार्यरत सातौँ तहकी इन्जिनियर कार्कीले सेवाग्राहीको ‘स्त्रुक्तुरे अनल्य्सिस्’ सम्बन्धी काम स्वीकृत गरिदिएबापत घुस मागेको भन्ने सूचना तथा उजुरी परेको थियो। सोही आधारमा अख्तियारको टोलीले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो ।
आयोगको टोलीले इन्जिनियर दीपा कार्की र रकम लिएर मध्यस्थता गर्ने आस्मा कार्कीलाई ६४ हजार रुपैयाँ घुस रकमसहित कागेश्वरी मनोहरा नगरपालिका कार्यालय, थली–डाँछीबाट २०८३ भदौ १५ गते नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेका दुवै जनालाई २०८३ भदौ १६ गते विशेष अदालतको आदेशबाट म्याद थप गरिएको छ । उनीहरूमाथि घुसरिसवत तथा भ्रष्टाचारसम्बन्धी विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।
अख्तियारले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।





