काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको नयाँ बस्ती युवा क्लबले रसुवा बाढी प्रभावितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।
क्लबले गोकर्णेश्वर नगरपालिकाले स्थापना गरेको विपद् राहत कोषमा उक्त रकम जम्मा गरेको हो। सोमबार क्लबका अध्यक्ष चन्द्रमणि गौतमसहित पदाधिकारीहरूले नगर प्रमुख दीपककुमार रिसाललाई १ लाख ११ हजार १११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा क्लबका वर्तमान तथा पूर्वपदाधिकारीहरूको समेत उपस्थिति थियो।
विपद्को कठिन घडीमा प्रभावित नागरिकको राहत तथा उद्धारमा आफ्नो तर्फबाट सहयोग पुगोस् भन्ने उद्देश्यले क्लबले सहयोग गरेको अध्यक्ष गौतमले बताए।
‘विपद्को बेलामा क्लबले सहयोगको हातेमालो गर्दै सानै भए पनि यसरी जोडिन चाहेको हो,’ उनले भने।
रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि गोकर्णेश्वर नगरपालिकाले स्थापना गरेको राहत कोषमार्फत सहयोग परिचालन भइरहेको छ।





