काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ।यसअघि इप्पानले संस्थागत रूपमा पाँच करोड पाँच लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।
तर, विपद्को यस कठिन घडीमा निजी क्षेत्रका जलविद्युत प्रवद्र्धकहरूले स्वतःस्फूर्त र उदारतापूर्वक सहयोग गरेपछि संकलित रकममा उल्लेख्य वृद्धि भएको हो।इप्पानका अध्यक्ष मोहन कुमार डाँगीका अनुसार हालसम्म ८ करोड १९ लाख रुपैयाँ सहायता रकम संकलन भइसकेको छ।
‘हामीले सुरुमा पाँच करोड पाँच लाख ५० हजार दिने निर्णय गरेका थियौँ, तर ऊर्जा उद्यमीहरूको उत्साहजनक सहभागिताले हालसम्म आठ करोड १९ लाख जुटिसकेको छ,’ अध्यक्ष डाँगीले भने, ‘सोमबारसम्म यो रकम १० करोड रुपैयाँ नाघ्ने गरी इप्पानले पहल गरिरहेको छ।’
संकलित सहायता रकम सोमबार एक विशेष कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप कोषलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको छ। सो अवसरमा संकलित रकमको चेक तथा बैंक भौचरहरू मन्त्रीलाई बुझाइने इप्पानले जनाएको छ।





