काठमाडौं। रसुवा, नुवाकोट, धादिङलगायत तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हिमालयन बुलियन कम्पनी लिमिटेडले १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यसअघि २१ लाख रुपैयाँ जम्मा गरिसकेको जनाएको छ। थप ८० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेसँगै कम्पनीको कुल सहयोग रकम १ करोड १ लाख रुपैयाँ पुगेको हो।
कम्पनीका अनुसार थप सहयोग रकमको चेक अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ। चेक कम्पनीका प्रतिनिधिहरू राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्मप्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले हस्तान्तरण गरेका हुन्।
कम्पनीले विपदमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। त्यस्तै बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारको पीडामा साथ दिनु सबैको साझा दायित्व भएको जनाएको छ।





