काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थापन गर्न भरतपुरमा कक्ष स्थापना गरिएको छ।
राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका आधिकारिक बैंक खातामा समेत सहयोग जम्मा गर्न सकिने र कतिपय सङ्घसंस्थाले जिन्सी सामग्रीसमेत सहयोग गर्न चाहेको बुझिएकाले राहत सामग्री सङ्कलन तथा व्यवस्थापनका लागि कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार भरतपुर–१० स्थित चितवन उद्योग सङ्घको हलमा सोमबारदेखि राहत सहयोग सङ्कलन तथा व्यवस्थापन कक्ष सञ्चालन गरिन लागेको जानकारी दिए।
मुग्लिन–काठमाडौँ सडकखण्डको कृष्णभीरमा सडक भासिएर सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको अवस्थाका कारण राहत सामग्री ओसारपसारमा समस्या हुनसक्ने भएकाले सहयोग गर्न इच्छुक सङ्घसंस्था तथा व्यक्तिको सहजताका लागि कक्ष स्थापना गरिएको उनले बताए।





