इटहरी, भदौ १४ गते । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सर्वसाधारणका लागि जाजु ग्रुप तथा शारडा ग्रुपले करिब ६० लाख रुपियाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ।

जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स लिमिटेडका प्रबन्ध निर्देशक महेश जाजुले बाढीपीडितका लागि राहत सामग्री स्थानीय प्रशासनसँग समन्वय गरी सोमबार पठाउने जानकारी दिनुभयो ।

पूर्वी नेपालको अग्रणी औद्योगिक घरानाको रूपमा रहेको जाजु ग्रुप र शारडा ग्रुपले सञ्चालन गर्दै आएको सुनसरीको सोनापुरस्थित एसियन थाइ फुड्स लिले एक लाख प्याकेट रमपम चाउचाउ, एक लाख प्याकेट गुडलाइफ बिस्कुट र एक लाख प्याकेट जुस गरी करिब ६० लाख रुपियाँ बराबरको राहत सामग्री उपलब्ध गराउने उद्योगी जाजुले बताउनुभयो।

प्राकृतिक विपद्का कारण नागरिक ठूलो समस्यामा परेका बेला सरकारसँगै निजी क्षेत्रको पनि सामाजिक दायित्व हुने भएकाले मानवीय सेवाको भावनाबाट राहत सामग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो।

“विपद्को यो कठिन अवस्थामा सरकार उद्धार र राहतमा जुटिरहेको छ। यस्तो अवस्थामा निजी क्षेत्रको पनि सामाजिक दायित्व हुन्छ। त्यही दायित्व र उत्तरदायित्वलाई आधार मानेर हामीले सक्दो सहयोग गरेका हौँ,” जाजुले भन्नुभयो।

उहाँले विपदमा परेका नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराउन निजी क्षेत्रले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताउनुभयो। आगामी दिनमा पनि आवश्यकताअनुसार थप सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो।

जाजुका अनुसार जाजु ग्रुप र एसियन थाइ फुड्सले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा विगतदेखि नै विभिन्न किसिमका सहयोग गर्दै आएका छन्। विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु उद्योग–व्यवसाय क्षेत्रको सामाजिक उत्तरदायित्वसमेत भएकाले यस्तो अभियानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।

यसैक्रममा उद्योगी जाजुले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग समेत भेट गरी विपद्का बेला निजी क्षेत्रबाट गर्न सकिने सहयोगबारे छलफल गर्नुभएको छ। भेटका क्रममा उहाँले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

निजी क्षेत्रको समन्वयमा राहत तथा उद्धारका काममा आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताउँदै जाजुले संकटको समयमा राज्य र निजी क्षेत्रबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

तपाईको प्रतिक्रिया