काठमाडौं। बाढीग्रस्त क्षेत्रमा अलपत्र परेका यात्रुहरूको उद्धारका लागि काठमाडौं महानगरपालिकाले स्थलमार्गबाट निःशुल्क यातायात सेवा सुरु गरेको छ। महानगरपालिकाले रसुवा र नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा रहेर अलपत्र परेका तथा काठमाडौँबाट आफन्तको खोजीमा ती क्षेत्रमा जाने नागरिकहरूलाई लक्षित गर्दै यो सेवा थालेको हो।

सेवाको पहिलो दिन शनिबार दुई बालबालिका, नौ महिला र आठ पुरुष गरी १९ जनाको उद्धार गरी काठमाडौं ल्याइएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो। महानगरले १९ सिट क्षमताको एउटा गाडी र छत्रपाटी निःशुल्क चिकित्सालयको सहयोगमा १० सिट क्षमताको अर्को गाडी गरी दुईवटा सवारीसाधन सञ्चालनमा ल्याएको छ।

सवारीसाधनको अगाडि र पछाडि स्पष्ट पहिचानका लागि ब्यानर राखिनुका साथै प्रत्येक गाडीमा नगर प्रहरी परिचालन गरिएको छ। यी सवारीसाधनले दैनिक दुईपटक यात्रु ओसारपसार गर्नेछन्।

विपद् व्यवस्थापनमा खटिएका जनशक्तिलाई प्रोत्साहन गर्न कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा लगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया