राममणि दाहाल
मकवानपुर, भदौ १३ गते । बागमती प्रदेश सरकारले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अति प्रभावित जिल्लालाई सहयोग उपलब्ध गराउने भएको छ ।
तत्काल उद्धार तथा राहत कार्य सञ्चालनका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनलाई सहयोग रकम उपलब्ध गराउने भएको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न रसुवा र नुवाकोट जिल्लाको सम्बन्धित स्थानीय विपद् व्यवस्थापन कोषमा दुई करोड, धादिङ्ग र चितवन जिल्लालाई ५०–५० लाख गरी तत्कालका लागि तीन करोड उपलब्ध गराइने जानकारी दिनुभयो ।
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा गम्भीर विपद्को अवस्था उत्पन्न भएको भन्दै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा वैकल्पिक यातायात व्यवस्थापनमा बागमती प्रदेश सरकार सक्रिय रहेको उहाँले बताउनुभयो ।
सोही दिन बागमती प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक बसेसँगै विपद्बाट प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, राहत, उपचार, अस्थायी आवास र सुरक्षित आवागमनलाई उच्च प्राथमिकतामा राख्दै प्रदेश सरकार तत्कालै परिचालित भएको बताउनुभयो ।
प्रदेश सरकारले बाढीमा परी मृत्यु भएका व्यक्तिको अन्तिम संस्कारका लागि सम्बन्धित परिवारलाई प्रति मृतक २५ हजार रुपियाँका दरले राहत उपलब्ध गराउने भएको छ ।
मन्त्री केसीले शनिबार एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा स्वास्थ्य सेवाका लागि टोली परिचालन गरिएको बताउनुभएको छ ।
बाढीका कारण घाईते भएका नागरिकको तत्काल उद्दारका लागि मुख्यमन्त्री, प्रदेशका मन्त्रीहरू, प्रमुख सचिवसहितका कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरू स्थलगत रुपमा खटिएको र बाढीका कारण घरबारविहीन भएका नागरिकका लागि अस्थायी बसोबास तथा भोजनको व्यवस्था गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश सरकारले गोसाईकुण्ड, कैलाश तथा अन्य धार्मिक यात्राका क्रममा रही अलपत्र परेका तीर्थयात्रीहरूको सुरक्षित आवागमनका लागि निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।
बाढीका कारण त्रिशूली–धुन्चे सडकखण्ड, गल्छी धादिङ हुँदै त्रिशुली र धादिङ गल्छी हुँदै काठमाडौं अवरुद्ध भएको अवस्थामा वैकल्पिक सडकमार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन पहलसमेत भइरहेको उल्लेख गर्नुभएको छ ।
यसैबीच विपद्बाट विस्थापितको यथाशीघ्र यथोचित प्रवन्ध गर्ने प्रतिवद्धता सहित सबै पक्षलाई आ–आफ्नो स्थानबाट सहयोग, समन्वय र सहकार्यका लागि आग्रह गरिएको छ । प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढी प्रभावित नागरिक र जिल्लालाई लक्षित गरी मुख्यमन्त्री विपद् व्यवस्थापन तथा राहत कोष स्थापना गरेको छ ।
विषम् परिस्थितमा उद्धार, राहत, पुनःस्थापना तथा पुनःर्निर्माणको कार्यमा सहयोग गरिरहेका सबैप्रति प्रदेश सरकारले आभार प्रकटसमेत गरेको छ ।





